काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सत्ता गठबन्धनका दलहरूबीच ६० प्रतिशत स्थानीय तहमा तालमेल भएको दाबी गरेका छन् ।
लिवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता पुनले गठबन्धन सफल भएको दाबी गर्दै धेरै सथानीय तहमा तालमेल भएको बताएका हुन् ।
अघिल्लो चुनावमा कांग्रेस र माआवादी केन्द्रबीच १०६ स्थानमा तालमेल भए पनि त्यति सफल नभएको स्मरण गर्दै पुनले देशव्यापी संगठन भएका पार्टीबीच नै ६० प्रतिशत स्थानमा तालमेल हुनु सामान्य कुरा नभएको बताए।
उनले थपे, ‘त्यसैगरि माओवादी पार्टीले १०६ स्थानमा प्रमुख जितेको छ । ९९ स्थानमा दोस्रो भएको छ । त्यसै गरी झण्डै साढे चार सय स्थानमा तेस्रो स्थानमा छ । देशव्यापी संगठन छ, प्रतिस्पर्धी पार्टी हौं । र, समाजवादी, जसपा र राजमोको आआफ्नै संगठन र बेसहरू छन् । यसरी देशव्यापी रुपमा संगठन भएको पार्टीहरुका बीचमा जस्ताको त्यस्तै देशभरी तालमेल हुन्छ भन्नु पनि सायद मनोगत हुन्थ्यो ।’
कतिपय ठाउँमा माओवादी र कांग्रेसबीचमै प्रतिस्पर्धा रहेकाले त्यस्ता ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको पनि पुनले बताए । अहिलेको गठबन्धन संघीय चुनावसम्मै जाने दावी समेत गरेका छन्।


















