काठमाडौं । उच्च अदालत पाटनले बालक रिहान न्यौपानेको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।
आफ्नो बच्चाको उपचारमा लापरबाही गरेको भन्दै सन्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालविरूद्ध दिएको मुद्दामा न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले सोमबार फैसला गरेको हो।
यसअघि उपचारमा संलग्न डाक्टरमाथि कारबाही गर्न माग गर्दै उनीहरु मेडिकल काउन्सिल गए पनि उसले अस्पताल र डाक्टरहरूलाई स्पष्टीकरण सोध्ने निर्णयमात्र गरेको थियो। काउन्सिलको निर्णयविरूद्ध उनीहरूले पाटन उच्च अदालतमा पुनरावेदन दिएका थिए।
शल्यक्रिया गरी जन्मिएको बच्चाको उपचार क्रममा लापरबाही भएको भन्दै सञ्जीवले मेडिकल काउन्सिलमा ग्रान्डी अस्पताल, प्रशासन र डाक्टरविरूद्ध उजुरी हालेका थिए। काउन्सिलले बच्चाको उपचार गर्दा ग्रान्डी अस्पतालले लापरबाही गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
असारमा चार वर्ष पुग्ने रिहानको अवस्था अहिले पनि उस्तै छ।


















