अफगानिस्तानमा शृंखलाबद्ध विस्फोटमा परी १२ जनाको मृत्यु

69

एजेन्सी । अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

गतवर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि देशभर बम आक्रमणको संख्या घटेको थियो।

तर रमजानको पवित्र महिनामा धेरै घातक बम विस्फोटहरू भएका छन्।

बुधबार उत्तरी सहर मजार–ए–सरिफमा छुट्टाछुट्टै मिनी बसहरूमा राखिएका तीनवटा बम विस्फोट हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको प्रहरी र स्वास्थ्य अधिकारीले बताएका छन्।

‘बमहरू सहरका विभिन्न जिल्लामा तीनवटा मिनी बसहरूमा राखिएको थियो’, बाल्ख प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले भने। विस्फोटमा अन्य १५ जना घाइते भएका छन्। मारिनेहरूमा तीन जना महिला छन्।

त्यस्तै, राजधानी काबुलस्थित एउटा मस्जिदमा अर्को वम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन्।

तर, काबुलको एक अस्पतालले सो विस्फोटमा मारिनेको संख्या पाँच पुगेको जनाएको छ । मस्जिदको पंखाभित्र बम राखिएको प्राप्त विवरणमा जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here