काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजय बेहोरेपछि केशव स्थापितले मतदातालाई धन्यवाद दिएका छन्।
उनले जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षा यो पटक पूरा नभएको जनाउँदै यहाँको समृद्धिप्रतिको आकांक्षा अलिकति पनि नधर्मराएको उनले जनाएका छन् ।
उनले भनेका छन्, ‘पाँचवर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुनेछ भन्ने अपेक्षा पनि लिएको छु । काठमाडौँको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहनेछ । यद्यपि, तपाईँले गरेका रहेक कमजोरीमा भने म निरन्तर खबरदारी अवश्य गरिरहनेछु ।’
धन्यवाद ज्ञापन
मुलुकको संघीय राजधानीमा अवस्थित ‘काठमाडौँ महानगरपालिका’मा नेकपा (एमाले)को तर्फबाट म मेयर पदको उम्मेदवार बनेको तपाईँहरु सबैलाई विदितै छ । सबैभन्दा पहिला मलाई विश्वास गरेर मेयर पदको उम्मेदवारका लागि अवसर दिने पार्टी नेकपा (एमाले)प्रति आभार व्यक्त गर्न चाहन्छु।
म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको संस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।
जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन् । यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धरमराएको छैन।
निर्वाचनमा पराजय भोग्दै गर्दा ‘काठमाडौँ महानगरपालिका’मा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएका छु ।
पाँचवर्षे कार्यकालमा तपाईँको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुनेछ भन्ने अपेक्षा पनि लिएको छु । काठमाडौँको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहनेछ । यद्यपि, तपाईँले गरेका रहेक कमजोरीमा भने म निरन्तर खबरदारी अवश्य गरिरहनेछु ।
लोकप्रिय मतसहित उपमेयर पदमा विजयी हुनुहुने सुनिता डंगोललाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु । तपाईँ आशा बोकेको युवा हो, तपाईँले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुनेछ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु ।
नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेर विजयी प्राप्त गर्नुभएका अध्यक्ष र विभिन्न वडाबाट विजयी हुनुभएका सदस्यहरु सबैलाई शुभकामना व्यक्त गर्दै सबैको साझा जनप्रतिनिधि भएर आफ्नो कार्यकालमा सेवा प्रवाह गर्न पनि आग्रह गर्दछु ।
त्यसैगरी अन्य दलबाट निर्वाचित जनप्रतिनिधिलाई पनि शासक होइन सेवक भएर काम गर्न आग्रह गर्दछु।
अन्त्यमा, मलाई विश्वास गरेर मतदान गर्नुहुने मतदाता, महानरवासी, मेरो उम्मेदवारी दर्तासँगै मेरो चुनावी अभियानमा खटिनुभएका पार्टीको विभिन्न तह–तप्कामा रहनु भएका कमरेडहरु, सुभेच्छुक, स्वयंसेवक, सञ्चारकर्मी मित्रहरु, सुरक्षाकर्मी सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि तपाईँहरुकै साथमा रहने प्रण व्यक्त गर्दछु ।

















