काठमाडौं । लियोनल मेसीले रियल मड्रिडका फरवार्ड करिम बेन्जेमा यस वर्ष बालोन डीओर अवार्ड जित्नका लागि हकदार रहेको बताएका छन् । बेन्जेमाले अहिलेसम्म यो अवार्ड जित्न सकेका छैनन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसीले कीर्तिमानी सातपटक बालोन डीओर अवार्ड जितेका छन् ।
तर, यस सिजन उनको क्लब पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ रियालसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो । उक्त खेलको दोस्रो लेगमा बेन्जेमाले ह्याट्रिक गरेका थिए । बेन्जेमाले क्वार्टरफाइनलमा चेल्सीविरुद्ध पनि दुई लेगमा ह्याट्रिकसहित चार गोल गरेका थिए । त्यस्तै, बेन्जेमाले सेमिफाइनलमा म्यानचेस्टर सिटीविरुद्ध तीन गोल गरेका थिए । सिटीविरुद्ध थप समयमा बेन्जेमाले पेनाल्टीमा गरेको गोल रियलको जितमा निर्णायक बनेको थियो ।
रियलले शनिबार राति लिभरपुललाई १–० ले हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो । बेन्जेमा स्पेनिस ला लिगामा पनि जारी सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । बेन्जेमाले २७ गोल गरेका थिए । दोस्रो स्थानमा रहने इयागो असपसले १८ गोल गरेका थिए ।
बेन्जेमाले रियलबाट यस सिजनमा ४६ खेलमा ४४ गोल गरेका छन् । उनले क्लबबाट धरै गोल गर्नेमा दोस्रो स्थानमा रहेका राहुल गोन्जालेजसँग बराबरी गरेका छन् । दुवैले रियलबाट ३२३ गोल गरेका छन् । रियलबाट सबैभन्दा धेरै गोल क्रिस्टियानो रोनाल्डोले गरेका छन् । रोनाल्डोले रियलबाट ४५१ गोल गरेका थिए ।
रियाल युरोपियन प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको भए, मेसी बेन्जेमाबाट यति धेरै प्रभावित नहुन सक्थे । तर, नकआउट चरणमा रियललाई जित्नका लागि पीएसजी र सिटी दुवै टिमविरुद्ध उत्कृष्ट पुनरागमन गर्नुपर्ने थियो । त्यस्तो अवस्थामा बेन्जेमा दुवै खेलमा नायक बनेका थिए ।
“उनीहरूले कठिन परिस्थितिमा पनि गोल गर्न सके र खेल स्वतः परिवर्तन भयो,” रियालको टिमबारे मेसीले भने, “रियाल च्याम्पियन्स लिगमा राम्रो टिम थिएन, उनीहरू उत्कृष्ट टिम थिए ।” ३४ वर्षे मेसी अहिले अर्जेन्टिनामा अभ्यास गरिरहेका छन् । अर्जेन्टिना इटालीविरुद्धको ‘फिनालिसिमा’का लागि तयारी गरिरहेको छ । यो खेल कोपा अमेरिका विजेता र युरोपियन च्याम्पियनसिप बीचको प्रतिस्पर्धा हो । अर्जेन्टिना र इटालीले बुधबार राति प्रतिस्पर्धा गर्नेछन् ।
मेसीले कतारमा हुने फिफा विश्वकपमा बेन्जेमाविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ । किनकी, मेसीको अर्जेन्टिना र बेन्जेमाको फ्रान्सलाई बलियो उपाधि दाबेदारका रूपमा हेरिएको छ । तथापी, साविक विजेता फ्रान्सलाई अझ बलियो टोली मानिएको छ ।
“चार वर्षअघि फ्रान्स बलियो टिम थियो । हामी सबैले उनीहरूलाई सम्भावित विजेताका रूपमा लिएका थियौँ । अन्तत उनीहरूले उपाधि जितेर प्रतियोगिताको अन्त्य गरे । मलाई विश्वास छ, युरोपा लिगमा बेहोरेको हारका कारण उनीहरू अझ बलियो बनेका छन्,” मेसीले भने, “अर्जेन्टिना जुनसुकै टिमविरुद्ध खेल्न तयार छ । जुनसुकै प्रतिद्व्रन्द्वीलाई बलियो चुनौती दिन सक्नेछ । यसको मतलब हामी विश्व विजेता बन्छौँं भन्ने होइन । तर, हामी जस्तो टिमलाई पनि बलियो चुनौती पेस गर्नेछौँ ।”


















