कामपाका मेयर उपमेयरद्वारा फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरेडाँडाको अवलोकन

271

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले शुक्रबार काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् ।  उनीहरुले त्यस क्रममा फोहोर बिसर्जन गर्ने क्षेत्रका वसिन्दासँग उनीहरुको समस्याको विषयमा छलफल गरेका थिए । हालै बञ्चरेडाँडामा तयार भएको ल्याण्डफिलसाइटको एउटा सेलमा ११ वैशाखदेखि फोहोर विसर्जन गर्न सुरु भएको थियो । तर स्थानीय वासिन्दाले त्यहाँ फोहोर फाल्न अवरोध गरेका छन् ।

त्यसअघि फोहोर बिसर्जन हुँदै आएको सिसडोल क्षेत्रमा भने अत्यधिक फोहोर फालेका कारण थप फोहोर फाल्न मिल्ने अवस्था पनि छैन । कतिपय ट्रकले सडककै छेउमा फोहोर फालिदिएका कारण स्थानीय वासिन्दा रिसाएका छन् ।

स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरूले आफूहरुले स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्‍यो भनेर माग गर्दै प्रहरी प्रशासन लगाएर दमन गरिएको गुनासो गरेका थिए । मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भएकाले फोहोर वा स्थानीय वासिन्दाको उचित व्यवस्थापन हुनुपर्ने माग उनीहरुले राखेका थिए ।

त्यस क्रममा स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए ।  उनले सड्ने र नसड्ने फोहोर छुट्याएर विसर्जन गर्ने व्यवस्था मिलाउने र त्यसका लागि जनचेतना जगाउने काम गर्ने पनि जनाए ।

‘मान्छेले पाँच मिनेट फोहोर नछुट्टाइदिएर मान्छे मरिरहेको छ भन्ने कुरा त फिल हुनुपर्‍यो नि त,’ मेयर साहले भने ।  काठमाडौंमा करिब १५ दिनदेखि फोहोर उठ्न सकेको छैन । फोहोर फाल्ने ठाउँको टुंगो नहुँदा महानगरबासीले फोहोर घरभित्रै राखिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here