काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने जनाएकी छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गुरुङले बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको समाधान नहुने जनाइन्।
उनले काठमाडौँको फोहोरको दिगो व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिँदै मन्त्रालयको सोच के छ? भन्ने प्रश्न गरिन्। उनले फोहोरबाट कम्पोष्ट मलको फ्याक्ट्री खोल्न सकिने पनि जनाइन्।
उनले भनिन्, ‘काठमाडौं उपत्यकाको घरघरबाट प्रतिदिन १२ सय टन फोहोर निस्किन्छ। जसलाई करिब १५० ट्रिपरले ल्याण्डफिल साइटमा डम्पिङ गर्नुपर्ने हुन्छ। म माननीय मन्त्रीजीलाई सोध्न चाहन्छु, के बञ्चरेडाँडाँको ल्याण्डफिल साइटमा फोहोर डम्पिङ गरेर मात्र समस्या समाधान होला? यसको दिगो व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्ने मन्त्रालयको सोच छ कि छैन? विगत १७ वर्षदेखि सरकारको अत्याचारका कारण सिसडोलबासी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित छन्।
यस्ता समस्या बञ्चरेडाँडाका जनतामा दोहोरिन नदिन सरकारले आगामी वर्ष के–कस्ता कार्यक्रमहरु सञ्चालन गर्ने मन्त्रालयको योजना छ जानकारीको लागि अनुरोध गर्दछु। फोहोरबाट कम्पोष्ट मलको फ्याक्ट्री खोल्न सकिन्छ।’


















