के श्रीमतीको माइतीको सम्पत्ति, निजि आर्जन वा पेवामा श्रीमानको अधिकार हुन्छ ?

5

आवेश अधिकारी

सम्पत्ति भन्‍नाले के बुझ्‍ने ?

कुनै पनि उपभोग गर्न, खरिद, बिक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद, वस्तु वा कार्यलाई सम्पत्ति मानिन्छ । सम्पत्तिमाथि स्वामित्व रहेको व्यक्तिमा आफ्नो सम्पत्ति भोगचलन गर्न, बेचबिखन गर्न, अरुलाई प्रयोगमा दिन वा अन्य जुनसुकै किसिमले पनि उपयोग गर्न सक्ने अधिकार रहेको हुन्छ । नेपालको संविधान २०७२ को धारा २५ ले सम्पत्ति सम्बन्धि अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ भने धारा ३८९१० बमोजिम प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ भन्‍ने उल्लेख गरिएको छ ।

स्त्रीधनबारे कस्ता कानुनी व्यवस्था छन् ?           

ऐतिहासिक रुपमा हेर्दा जयस्थिति मल्लको मानवन्यायशास्त्रमा समेत महिलाहरुको सम्पत्तको हकबारे उल्लेख गरिएको पाईन्छ । सामान्य अर्थमा स्त्रीधन भन्‍नाले महिलाको दाईजो र पेवालाई बुझिन्छ ।  महिलाले आफ्नो माईतीपट्टिबाट पाएको चल(अचल सम्पत्तिलाई दाईजो भनिन्छ भने आफ्नो श्रीमानपट्टिको नातेदारहरुबाट उसको एकलौटी हक हुने गरी दिएको चल वा अचल सम्पत्तिलाई पेवा भनिन्छ ।

पेवालाई महिलाले आफैले काम गरी कमाएको सम्पत्ति वा श्रीमान पट्टिका अंशियारहरुको मञ्जुरीको लिखत गरी दिएको सम्पत्ति वा श्रीमान् पट्टिको अरु नातेदार वा ईष्‍टमित्रले दिएको चल अचल र त्यसबाट बढे बढाएको सम्पत्तिको रुपमा पनि बुझ्‍ने गरिएको छ । यससम्बन्धि व्यवस्था साबिकको मुलुकी ऐनको स्त्री अंश धनको महलमा पनि गरिएको थियो भने हाल पनि मुलुकी देवानी संहिता २०७४ ले महिलाको निजि सम्पत्तिको हकको सुनिश्‍चितता गरेको छ र सो निजी सम्पत्ति महिलाले आफूखुसी गर्न पाउने व्यवस्था समेत उल्लेख गरेको पाईन्छ ।

नेपालको सन्दर्भमा परापूर्व कालदेखि हेर्दै आउने हो भने सम्पत्तिको हकमा पैतृक सम्पत्तिको अशंबण्डा गर्दा केवल बुवा, पति, छोरा गरी लोग्‍ने मान्छेको हकमा अंश पर्दै एक पुस्तादेखि अर्को पुस्तामा सो सम्पत्ति हक हस्तानतरण हुँदै आउने व्यवस्था गरिएको थियो । बुवाको सम्पत्तिमा समेत आफ्नै छोरीको अशं दाबी लाग्दैनथ्यो । छोरी मान्छे पछि विवाह भई अर्काको घर जाने हुनाले पैतृक सम्पत्तिमा छोरीको केहि अंश प्रदान गरिएको थिएन । तर, छोरी विवाह गरेर जाँदा माईतीबाट भने चल वा अचल सम्पत्ति दिईने चलन थियो र यसलाई दाईजो भनिन्थ्यो, जसमा केवल छोरीको मात्र हक हुन्छ ।

पूर्वकालिन समयमा महिला पूर्णरुपमा आफ्नो पति उपर निर्भर रहने हुँदा उनीहरुको बाहिरी आफ्नो निजि आमदानीको श्रोत भने केहि हुँदैन थियो । आफ्नो माईति पट्टिबाट र श्रीमान पट्टिको नातेदारबाट आर्जन गरेको सम्पत्ति मात्र उनीहरुको निजि सम्पत्ति अर्थात स्त्रीधनको रुपमा हुने गर्दथ्यो । त्यसरी महिलाले अरु कतैबाट कमाएर सम्पत्ति जोड्ने नहुँदा र निजि सम्पत्तिको नाममा आफुले पाएको दाईजो र पेवा भएकाले सो सम्पत्ति उपर केवल महिलाको आफ्नो हक मात्र हुने र आफुखुसी सो सम्पत्तिको प्रयोग गर्न सक्ने हक रहँदै आएको हो ।

हालको अवस्थामा नेपालमा महिलाको सम्पत्तिको हक भने सम्बन्ध विच्छेदको कानुनी व्यवस्थाले समेत सुनिश्‍चित गरेको पाईन्छ । पति पत्नी बिच सम्बन्ध विच्छेद हुँदा पत्नीले आफ्नो पतिको सम्पत्तिबाट आफ्नो अंश पाउने पूर्ण अधिकार रहन्छ । हालको कानूनी व्यवस्थाहरुले महिलाहरुलाई पुर्ण रुपले सम्पत्ति उपर अधिकार दिएता पनि नेपालमा महिलाको हक अधिकारको लागि निकै समयदेखि संघर्ष चलिरहेको कुरा स्पष्‍ट नै छ ।

पैतृक सम्पत्तिमा महिलाको अधिकार नहुने, वैवाहिक अवस्था र उमेर हेरेर मात्र महिलालाई सम्पत्ति प्रदान गर्ने व्यवस्था भएको मुलुकी ऐनदेखि हालको नेपालको संविधानमा लैंगिक समानता र महिला र पुरुषलाई समान सम्पत्तिको अधिकार प्रदान गर्ने प्रावधान भएको संविधानसम्म आइपुग्दा सकारात्मक र प्रगतिशिल कानूनको विकास हुँदै आईरहेको देख्‍न सकिन्छ ।

के कस्तो सम्पत्तिलाई निजी सम्पत्ति मानिन्छ ?

मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ अनुसार कुनै व्यक्तिको नाममा रहेको देहायका कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति त्यस्तो व्यक्तिको निजी सम्पत्ति मानिनेछः–

  1. आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको,
  2. दान, बकस वा अपुताली स्वरूप प्राप्त गरेको,
  3. चिठ्ठा वा उपहार स्वरूप प्राप्त गरेको,
  4. पारिश्रमिक, उपदान, निवृत्तभरण, उपचार खर्च, सञ्‍चय कोष, बीमा वा अन्य सामाजिक सुरक्षण वापत प्राप्त गरेको,
  5. बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरूप प्राप्त गरेको,
  6. कानून बमोजिम मानो छुट्टिई भिन्‍न बसेको अवस्थामा वा त्यसरी मानो नछुट्टिए पनि खति उपति आफ्नो आफ्नो गरी खानु बस्‍नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको,
  7. महिलाले विवाह पूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको,
  8. महिलालाई पति वा पति तर्फका सबै अंशियारहरूको मञ्‍जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरी दिएको वा पति तर्फका नातेदार वा इष्‍टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति,
  9. कानून बमोजिम कुनै व्यक्तिको मात्र निजी सम्पत्ति हुने उल्लेख गरेको ।
  10. माथी उल्लेखित सम्मपत्तिलाई कानूनले निजि सम्पत्ति मानेको छ र यस्तो सम्पत्तिलाई महिला वा पुरुष जो कोहीले पनि आर्जन गर्न सक्दछन् , साथै कानूनको अधीनमा रही निजि सम्पत्ति हुने व्यक्तिले त्यस्तो सम्पत्तिको प्रयोग आफूखुसी गर्न पाउने व्यवस्था समेत कानूनले गरेको छ ।

कस्तो सम्पत्तिलाई दाइजो र पेवा मानिन्छ ?

महिलालाई उसको माइती वा मावलीपट्टिको नातेदार, इष्‍टमित्रहरुले दिएको चल वा अचल सम्पत्तिलाई दाइजो भनिन्छ । त्यस्तै महिलालाई उसको लोग्‍ने वा श्रीमानपट्टिको नातेदार, इष्‍टमित्रहरुले दिएको चल वा अचल सम्पत्तिलाई पेवा भनिन्छ । यसरी महिलाले प्राप्त गरेको दाइजो वा पेवा तथा सो बाट बढेबढाएको सम्पत्तिमा निजको पूर्ण अधिकार हुन्छ ।

महिलाले विवाह पूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्तिलाई निजि सम्पत्ति मानिएको छ र त्यस्तो सम्पत्तिमा व्यक्तिले आफूखुसी गर्न पाउने कुरा प्रष्‍ट उल्लेख गरिएको छ । तर पति तर्फको अन्य अंशियारलाई यस्तो सम्पत्ति भाग लगाउनु पर्ने कानूनी व्यवस्था नरहेता पनि पति वा पत्नीको लागि भने यस्तो सम्पत्ति संगोलकै सम्पत्ति सरह मानिन्छ ।

के महिलाको नाममा रहेको निजि सम्पत्तिमा श्रीमानले दाबी गर्न पाउँछन् ?

कानूनले सबैलाई निजि सम्पत्तिको प्रयोगमा स्वतन्त्र अधिकार दिएको छ तर पति वा पत्नीको लागि भने त्यस्तो सम्पत्तिहरु निजि सम्पत्ति नभई सगोलकै सम्पत्तिको रुपमा मानिने कानूनी व्यवस्था रहेको छ । जस्तै मुलुकी देवानी संहिता, २०७४ को दफा २५७ ९२० मा कानून बमोजिम भिन्‍न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको संगोलको सम्पत्ति हुनेछ भनि उल्लेख गरिएको छ ।

यसको अर्थ पति वा पत्नी जुनसुकै व्यहोराले कमाएको सम्पत्ति पनि पति वा पत्नीको लागि सगोलको सम्पत्ति मानिने कानूनी व्यवस्था रहेको छ । साथै २५७९३० मा पनि स्पष्‍ट रुपमै बाबु आमा र छोरा छोरी बीच अंशबण्डा गर्ने प्रयोजनको लागि बाबु आमाले आर्जन गरेको सम्पत्ति समेत सगोलको सम्पत्ति मानिनेछ भनि व्यवस्था गरिएको छ जसको अर्थ यस्तो सम्पत्तिमा छोरा छोरीले समेत दाबी गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।

यस्ता छन् नजिर

कृष्णमान सिंह बिरुद्द प्रकाशमान सिंह भएको निर्णय न। १०४६९ को मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट अंशियारहरूको मन मिलेमा अदालतबाट लगाइने बन्डा जस्तो नभई कसैले एक ठाउँको सम्पत्ति र कसैले अर्को ठाउँको सम्पत्ति लिन सक्दछन् । कसैले घर मात्र, कसैले जग्गा मात्र लिन वा थोरै सम्पत्ति लिन एवं सम्पत्ति नै नलिनसमेत सक्दछन् ।

अंशियारहरूबिच मन मिलेमा बन्डा लाग्‍ने सम्पत्ति बन्डा नलगाउन र निजी आर्जनको वा दाइजो पेवाको सम्पत्ति पनि बन्डा लगाउन सक्ने छन भनी ब्याख्या भएको छ । अंशियारहरूबिच कुरा नमिली अंश मुद्दा परेको अवस्थामा मात्र अदालतबाट कुन सम्पत्ति बन्डा लाग्‍ने र कुन नलाग्‍ने भनी यकिन गरी प्रत्येक कित्ता फोडी बन्डा लगाउन हुने भनि व्याख्या गरिएको छ ।

त्यस्तै शारदादेवी खतिवडा बिरुद्द सावित्रीदेवी खतिवडा समेत भएको निर्णय न। १०४१८ को मुद्दामा “बाबु आमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीका लागि पैतृकसरह हुने फैसला भएको छ । सौतेनीआमाले बकसपत्र, दाइजो जुनसुकै माध्यमबाट प्राप्‍त गरेको सम्पत्ति आफ्नो छोरा छोरीलाई पैतृक हुने, सौतेनीतर्फबाट जन्मेका छोरा छोरीको लागि नहुने भनी व्याख्या गर्न नमिल्ने” भनि सिद्दान्त प्रतिपादित भएको छ ।  nepalhomes बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here