मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

112

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन गर्नुभएको छ । राष्ट्रियसभाको मङ्गलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने र यसबारेमा सरकारलाई निर्देशन दिन अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराउनुभएको थियो ।

अध्यक्ष तिमिल्सिनाले मूल्यवृद्धिका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अर्को बैठकमा सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्देशन गर्नुभयो । “राष्ट्रियसभाको बैठकमा मूल्यवृद्धिजस्तो गम्भीर जनसरोकारका विषय उठिरहेको छ । आज पनि यहाँहरुले यो विषय उठाउनुभएको छ, सदनमा उठेका विषयमा संसदमार्फत जनतालाई जवाफ दिनु सरकारको दायित्व पनि हो । यसतर्फ म सरकरको गम्भीर ध्यानाकर्षण गराउँछु । अर्को बैठकमा संसद्मा दिन निर्देशन गर्दछु ।”

अध्यक्ष तिमिल्सिनाको निर्देशनपछि पनि राष्ट्रियसभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ नदिई सदनको कामकारबाही अगाडि बढ्न नसक्ने र आफूहरुको विरोध रहिरहने बताउनुभयो । उहाँले मूल्यवृद्धिबाट प्रभावित जनतलाई राहत प्याकेजसहित सहुलियत दिन स्पष्ट योजना ल्याउन माग गर्नुभयो ।

एमालेको अवरोधपछि अध्यक्ष तिमिल्सिनाले आजको कार्यसूचीमा रहेको विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकको छलफल अर्को बैठकमा हुने गरी बैठक स्थगनको घोषणा गर्नुभयो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमाथिका विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो । राष्ट्रियसभाको अर्को बैठक बुधबार १ बजे बस्ने गरी स्थगित भएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here