काठमाडाैं । विवेकशील साझा पार्टीको युवा संगठनमा नयाँ नेतृत्व चयन भएको छ। संगठनमा संयोजक रहेका अब्दुस मियाँले दल त्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि संगठनको सचिवालय वैठकले महासचिव रहेका सरोज गौतमलाई संयोजकमा चयन गरेको हो।
असार १६ र १७ गते अनलाईन माध्यमबाट बसेको बैठकबाट संगठनको आगामी महाधिवेशन र आसन्न चुनावसम्म संगठन नेतृत्वविहिन रहन नसक्ने भएकाले सँस्थापक महासचिव सरोज गौतमलाई संयोजक चयन गर्ने निर्णय गरेको छ।
को हुन् संयोजक गौतम?
मोदी गाउँपालिका पर्वत घर भएका २८ वर्षीय गौतम शिक्षाले इलेक्ट्रोनिक्स इन्जिनियर हुन्। पोखरा विश्वविद्यालयबाट एम.बि.ए समेत गरेका उनी पेशाले एक आइटी कम्पनिका व्यवस्थापक हुन्। विगत एक दशकदेखी सामाजिक अभियानहरुमा सक्रिय गौतम विभिन्न अनलाईन तथा पत्रपत्रिकाहरुमा नियमित टिप्पणीकार हुन्।
तत्कालिन साझा पार्टीले स्थापना गरेको साझा युवा संगठनका महासचिव रहेका गौतमले विभिन्न राजनीतिक तथा सामाजिक अभियानहरुको नेतृत्व गरेका छन्।
पार्टीको केन्द्रीय समिति सदस्य समेत रहेका उनी तत्कालिन अध्यक्ष रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ दस्तावेजको विपक्षमा उभिएका थिए। पार्टीमा वैचारिक संकट उत्पन्न भएपछि त्यसको विधिवत व्यवस्थापनका लागि गौतम सक्रिय थिए। ‘पार्टीको संकटको समयानुकुल व्यवस्थापन गर्न पार्टी नेतृत्वलाई दबाब दिन युवा संगठनले भूमिका खेल्नु पर्थ्यो।’ – गौतमले भने, ‘अब पार्टीको समस्या समाधान संगै विभिन्न सामाजिक तथा राजनीतिक अभियानहरुमा समेत संगठनले नेतृत्व लिनेछ।’
संगठनको उक्त वैठकले सँस्थापक संयोजक अब्दुस मियाँलाई संगठनमा योगदानको लागि धन्यवाद दिँदै आगामी राजनीतिक यात्राको लागि शुभकामना समेत दिएको गौतमले बताए।


















