सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतका सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा यो सहकार्य अझ विस्तार हुने आशा गर्नुभयो ।
मन्त्री भुसालले भन्नुभयो, “नेपाल–भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरी अगाडि बढ्न नेपाल इच्छुक छ । यहाँको कार्यकालमा विद्युत् व्यापारमा महत्वपूर्ण सफलता प्राप्त हुने मैले विश्वास लिएको छु ।”
उहाँले पश्चेश्वर जलविद्युत् परियोजनालाई अगाडि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा राजदूत श्रीवास्तवले दुई देशबीचको सहकार्य थप विस्तार गर्न आफूले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो । पछिल्लो एक वर्षमा विद्युत् व्यापारका क्षेत्रमा महत्वपूर्ण उपलब्धी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पछिल्लो एक वर्षमा विद्युत् व्यापारमा ठूलो सफलता मिलेको छ । यसमा दुवै सरकारको सहकार्य सराहनीय छ ।” आफूले विद्युत् उत्पादन एवं व्यापारका लागि निरन्तर पहल गर्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “विद्युत् व्यापार दुवै देशका लागि फाइदाजनक विषय हो । यसमा हाम्रोतर्फबाट निरन्तर सहयोग हुनेछ ।” भेटमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिवद्वय बाबुराम भण्डारी र चिरञ्जीवी चटौत र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो । RSS

















