काठमाडौं । सोमबार बिहान न्यु जर्सीमा विश्वकपको ट्रफी उचाल्ने टोली केवल उत्कृष्ट खेलाडीले मात्रै तय गर्ने छैन । अर्जेन्टिना र स्पेनबीचको फाइनलमा दुई प्रशिक्षकबीचको रणनीतिक लडाइँ पनि उत्तिकै निर्णायक हुनेछ ।
अझ रोचक त के छ भने, दुई प्रशिक्षक लुइस डे ला फुएन्ते र लियोनल स्कालोनीबीचको सम्बन्ध प्रतिद्वन्द्वीको मात्रै होइन, गुरु र शिष्यको पनि हो ।
सन् २०१७ मा स्पेनिस फुटबल महासंघ (आरएफईएफ) ले आयोजना गरेको यूईएफए प्रो लाइसेन्स प्रशिक्षक पाठ्यक्रममा अर्जेन्टिनाका स्कालोनी विद्यार्थी थिए भने स्पेनका वर्तमान प्रशिक्षक लुइस डे ला फुएन्ते प्रशिक्षकमध्ये एक थिए । त्यतिबेला कक्षाको पहिलो बेञ्चमा बसेर सबैभन्दा धेरै प्रश्न गर्ने विद्यार्थीमध्ये स्कालोनी थिए ।
‘अरू विद्यार्थी पछाडि बस्थे, तर स्कालोनी सधैं अगाडि हुन्थे। उनी सधैं बहस गर्थे, प्रश्न गर्थे, आफ्नै दृष्टिकोण राख्थे,’ डे ला फुएन्तेले द गार्डियनसँगको अन्तर्वार्तामा सम्झिएका छन् । ‘त्यतिबेलै उनीभित्र केही फरक देखिन्थ्यो।’
युवा टोलीबाट विश्वकप फाइनलसम्म डे ला फुएन्तेको यात्रा

स्पेनका ६४ वर्षीय डे ला फुएन्ते सिनियर टोली सम्हाल्नुअघि झन्डै एक दशक स्पेनको उमेर समूह टोलीसँग बिताएका प्रशिक्षक हुन् ।
उनले सन् २०१५ मा स्पेनलाई यू–१९ युरोपियन च्याम्पियन बनाए । त्यस टोलीमा अहिलेका प्रमुख खेलाडी रोड्री, मिकेल मेरिनो र उनाइ सिमोन थिए ।
त्यसपछि उनले सन् २०१८ मा यू–२१ युरोपियन च्याम्पियनसिप जिताए । सन् २०२१ टोकियो ओलम्पिकमा स्पेनलाई रजत पदक दिलाए ।
सन् २०२२ मा लुइस एनरिकेको स्थानमा सिनियर टोली सम्हालेपछि डे ला फुएन्तेले स्पेनलाई फेरि युरोपको शिखरमा पुर्याए । उनको नेतृत्वमा स्पेनले सन् २०२३ मा यूईएफए नेसन्स लिग जित्यो भने २०२४ मा युरोपियन च्याम्पियन बन्यो ।
अब उनले स्पेनलाई १६ वर्षपछि फेरि विश्वकप उपाधि दिलाउने लक्ष्य बोकेका छन् ।
आलोचनाबाट विश्व विजेतासम्म स्कालोनी

अर्कोतर्फ स्कालोनीको यात्रा झन् असाधारण छ । सन् २०१८ विश्वकपपछि अर्जेन्टिनाले अन्तरिम प्रशिक्षकका रूपमा जिम्मेवारी दिएको बेला धेरैले उनलाई अनुभवहीन भन्दै आलोचना गरेका थिए ।
उनले यसअघि स्पेनिस क्लब सेभियामा सहायक प्रशिक्षक र जर्ज साम्पाओलीका सहायकका रूपमा मात्रै काम गरेका थिए ।
तर आठ वर्षमै उनले अर्जेन्टिनाको इतिहास बदलिदिए ।
उनको नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिका २०२१, युरोकप र कोपा अमेरिका विजेताबीचको खेल फाइनलिसिमा २०२२, फिफा विश्वकप २०२२ र कोपा अमेरिका २०२४ जितिसकेको छ ।
अब लगातार दोस्रो विश्वकप उपाधिको संघारमा उभिएको अर्जेन्टिनाले जित हात पारे स्कालोनी आधुनिक फुटबलका सबैभन्दा सफल राष्ट्रिय टोली प्रशिक्षकमध्ये एक बन्नेछन् ।
विशेषता एउटै, शैली फरक
दुवै प्रशिक्षकको सबैभन्दा ठूलो बल एउटै मानिन्छ—खेलाडी व्यवस्थापन । डे ला फुएन्तेसँग अध्ययन गरेका पूर्व खेलाडीहरूले उनलाई ‘सधैं एउटै स्वभावका व्यक्ति’ भनेर सम्झिन्छन् ।
‘पहिलो दिन जस्तो व्यवहार गर्थे, हजारौं दिनपछि पनि उस्तै व्यवहार गर्छन्,’ ओर्बाइज भन्छन् । स्कालोनीबारे पनि उनका सहपाठीको धारणा उस्तै छ।
‘हामीलाई त्यतिबेलै थाहा थियो, उनी केवल लाइसेन्स लिन आएका होइनन्। उनी प्रशिक्षक बन्नकै लागि पढिरहेका थिए,’ कार्लोस गुर्पेगी सम्झन्छन् ।
डे ला फुएन्तेको स्पेन बल नियन्त्रण, छोटो पास, उच्च प्रेसिङ र तीव्र आक्रमणमा विश्वास गर्छ । स्कालोनीको अर्जेन्टिना भने परिस्थितिअनुसार शैली परिवर्तन गर्न सक्ने टोली हो ।
आवश्यक पर्दा बल नियन्त्रण गर्ने, आवश्यक पर्दा प्रतिआक्रमणमा जाने र कठिन खेलमा मानसिक रूपमा बलियो रहने क्षमता अर्जेन्टिनाको पहिचान बनेको छ ।
***
सन् २०१७ मा एउटै कक्षामा फुटबलबारे बहस गर्ने गुरु र विद्यार्थीबीच अब विश्व फुटबलकै सबैभन्दा ठूलो उपाधिको निर्णय हुनेछ ।
त्यतिबेला उनीहरूको अगाडि नोटबुक थियो । यसपटक उनीहरूको अगाडि विश्वकप ट्रफी हुनेछ।
र ९० मिनेटपछि—वा आवश्यक परे अतिरिक्त समय र पेनाल्टीपछि—फुटबलले नयाँ विश्व विजेतासँगै कसको रणनीति पास भयो भन्ने पनि तय गर्नेछ ।















