कामपामा साउन १ गतेदेखि लागू हुने गरी फोहोरसंकलन तालिका सार्वजनिक

100

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोरसंकलनका लागि तालिका सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरले आज एक सूचना जारी गर्दै कुहिने फोहोरसंकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहोरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिएबमोजिम नागरिकले फोहोरव्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ । कामपाले एक महिनाअघि नै सूचना जारी गरी फोहोरवर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो ।  पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहोरबोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति रु ५०० जरिवानासमेत गर्ने जनाइएको छ ।

कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहोरव्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहोरलिने गाडी पनि फरकफरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ ।  पछिल्लो समय कामपालगायत काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोरव्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा पटक पटक समस्या आएपछि फोहोरव्यवस्थापनमा सहजताका लागि कामपाले यस किसिमको अभ्यास सुरु गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here