एजेन्सी । महिला युरोकपअन्तर्गत गएरातिको खेलमा जर्मनीले सहज जित हात पारेको छ । उसले समूह ‘बी’ को खेलमा फिनल्याण्डमाथि ३–० गोल अन्तरको सहज जित हात पारेको हो ।
स्टेडियम एमकेमा खेलको ४० औं मिनेटमा सोफिया क्लेनहर्नको गोलमार्फत जर्मनीले अग्रता लिएयो । ४८ औं अलेक्जान्ड्रा पोपले टोलीको अग्रता दोब्बर बनाइन् ।
६३ औं मिनेटमा निकोल एनोमीले गोल गरेपछि जर्मनीले ३–० को सहज जित निकाल्यो । योसँगै जर्मनी शतप्रतिशत जितका साथ तीन खेलमा नौ अंकका साथ समूह विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेको छ ।
तीनै खेलमा पराजित फिनल्याण्ड बिना अंक पुछारमा रहेर बाहिरियो । यही समूहको अर्को खेलमा स्पेनले डेनमार्कमाथि १–० को कठिन जित हात पार्यो ।
ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा खेलको ९० औं मिनेटमा मार्टा कार्डोनाले गरेको एक मात्र गोल स्पेनलाई जित दिलाउन पर्याप्त बन्यो ।
जितसँगै तीन खेलमा ६ अंक जोडेको स्पेन समूह उप विजेताको रूपमा क्वार्टरफाइनल प्रवेश गर्दा समान खेलबाट तीन अंकका साथ डेनमार्क तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।
क्वार्टरफाइनलमा जर्मनीले अस्ट्रिया तथा स्पेनले इंग्ल्याण्डको सामना गर्नेछन् ।


















