काठमाडौं । राष्ट्रिय समावेशी आयोगले खसआर्य समूहका ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी, बाह्रपन्थी र रानाभाट/भाटको गोत्रसहित थर सूचीकरण गरेको छ । सूचीकृतमध्ये ब्राह्मणको ४ सय ५६, क्षत्रीको ६ सय २०, ठकुरीको ७३, दशनामीको १०, बाह्रपन्थीको २०, रानाभाटको ५५ थरी छन् । आयोगले खसआर्यभित्र रहेका र मधेसी आयोगले मधेसी जातिमा दाबी गरेको ९४ थरलाई समेत प्रतिवेदनमा समावेश गरेको छ ।
आयोगका अध्यक्ष रामकृष्ण तिमल्सेनाका अनुसार स्थलगत अध्ययन, स्थानीय तहले गरेका सिफारिस र जातीय समाज/संगठनले उपलब्ध गराएको थर सूचीकृत गरिएका हुन् । ‘एउटा समूहभित्रको विविधतालाई केलाएर सांस्कृतिक नक्सांकन भएको छ,’ खसआर्य थर प्रतिवेदनबारे उनले भने, ‘पहिलो पटक भएको यो थर सूचीकरण कार्यले सामाजिक विशेषतालाई केलाउन मार्गचित्रको काम गर्ने ठानेका छौं ।’
क्षत्री समाजका पूर्वअध्यक्ष राम थापाले आयोगले देशभरि रहेका जातजातिको थर पहिल्याएर समाजको यथार्थ चित्रण गरेको बताए । ‘कुनाकाप्चामा रहेका जातजातिको थर, गोत्र पहिल्याएर बाहिर आउनु सकारात्मक काम हो,’ व्यक्तिगत रूपमा गरिने कामभन्दा सरकारको निकायले गरेको बढी प्रभावकारी हुने उल्लेख गर्दै थापाले भने, ‘राज्यले समान हक, अधिकार प्रदान गरेको हुँदा समाजको वास्तविक चित्र पहिल्याउनु जरुरी थियो । आयोगले यो काम गरेको छ । यसले वास्तविक क्षत्रीहरूको अवस्था उजागर गर्नसमेत सहयोग पुगेको छ ।’
थापाले सुदूरपश्चिमका ग्रामीण भेगमा रहेका क्षत्री समुदाय गरिबीको रेखामुनि रहेका र उनीहरूका थर, गोत्रसहित केलाउनुले वास्तविक स्थितिसमेत उजागर हुने उनले बताए । ‘अझै पनि धेरै थर गोत्रहरू छुटेका छन्,’ अध्ययनमा संलग्न उनले भने ।
संवैधानिक रूपमा खसआर्यभित्र नसमेटिएको तर सामाजिक र सांस्कृतिक रूपमा समेटिनुपर्ने धेरै थर, गोत्र भेटिएको अध्यक्ष तिमल्सेनाले बताए । ‘पहिचानको राजनीतिले गर्दा देशको लोकतान्त्रीकरणको प्रक्रियालाई थप जटिल बनाएको छ,’ उनले भने, ‘आयोग–आयोगबीचको समन्वय र यसको व्यवस्थापनमा सरकारको ध्यान पुग्न जरुरी छ ।’ संविधानको धारा १८ मा आर्थिक रूपले विपन्न खसआर्यलगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्न सकिने व्यवस्था छ । यसैगरी धारा ४२ सामाजिक न्यायअन्तर्गत आर्थिक रूपले विपन्न खसआर्यलाई समावेशी सिद्धान्तका आधार राज्यको निकायमा सहभागिताको हक हुने उल्लेख छ । गणेश । गणेश राईले इकान्तिपुरमा समाचार लेखेका छन् ।














