पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारिएको हो। गाउँपालिकाका अध्यक्ष डम्बर विकले अभिभावकविहीन बालबालिकालाई स्थानीय सरकारले पाल्ने र पढाउने जनाए। ‘हामीले त्यसका लागि केही बजेट छुट्याएका छौँ। संघ संस्था र व्यक्तिहरूसँग सहकार्य पनि गर्छौ, अध्यक्ष विकले भने, अभिभावकविहीन बालबालिकालाई आवासीय पढाई हुन्छ।’
पालिकामा ५० जनाजति त्यस्ता बालबालिका हुन सक्ने आकलन गरिएको छ। १८ जना सम्पर्कमा आइसकेको अध्यक्ष विकले जानकारी गराए । पालिका शिक्षा शाखामार्फत बजेट छुट्याएर टुहुराको अभिभावक बन्ने प्रयास गरेको छ। शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्लले तत्काललाई यो अभियानका लागि पाँच लाख रुपैयाँ छुट्याइएको जनाए। ‘बा, आमाको ठेगान नभएका बालबालिकालाई पालिकाले संरक्षण गरेर पढाइदिनका लागि बजेट छुट्याइएको छ, शिक्षा शाखाका प्रमुख मल्लले भने, पालिकाभित्र कति छन्। सोधीखोजी थालिसकेका छौँ।’
अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने संघ संस्थाहरूमा थुप्रै छन्। बाँकेको हकमा प्रायः क्रिस्चियनहरूले यस्ता संस्था चलाएका छन्। कतिपय नेताहरुले गरिब, विपन्न, दुःख पाएका बच्चालाई पढाइदिने जिम्मा लिएको देखिन्छ। यद्यपि, त्यसरी गोद लिइएका बच्चाको विचल्ली भएको समाचारहरू आउने गरेका छन्।
खजुरा गाउँपालिका आफैले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने कार्यक्रम ल्याएर नमूना कामको सुरुवात गरेको छ। योसँगै पालिकाले शिक्षामा लोकसेवाको तयारी कक्षा सञ्चालन, पढ्दै कमाउँदै कार्यक्रम, उच्च शिक्षा अध्ययन सहयोगलगायतका लागि बजेट छुट्याएको छ। पालिकाले शिक्षामा तीन करोड २६ लाख ८३ हजार रुपैयाँ छुट्याएको छ।
उमेर समूहका बालबालिकालाई विद्यालय प्रवेश गराउने हरेक पालिकामा कार्यक्रम रहेका छन्। विद्यालय नै नआएकालाई भर्ना गराउने, विचैमा छोडेका पुनः प्रवेश गराउने कार्यक्रम वर्षेनी हुने गर्दछन्। विद्यालय प्रवेश भएरपनि छोडेकालाई तार्गेट गरेर दीर्घकालिन कार्यक्रम ल्याउन जरुरी देखिन्छ। किनकी, भर्ना अभियानका नाममा यस्तै बालबालिका वर्षेनी दोहोरिने गरेको पाइन्छ।


















