काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने सिजन २०२२/२३ को बिग ब्यास लिग (बिबिए) को ड्राफ्टमा समावेश भएका छन्।
अस्ट्रेलियाको फ्रेञ्चाइज क्रिकेट लिग बिबिएलको ड्राफ्टुमा सन्दीपसहित १६९ विदेशी खेलाडी समावेश छन्। यी खेलाडी विभिन्न १३ देशका छन्।
बिबिएलका टिमले आगामी २८ अगस्टमा ड्राफ्टुमार्फत विदेशी खेलाडी आफ्नो टिममा भित्र्याउनेछन्। बिबिएल टिमले यसपटकदेखि ड्राफ्टुमार्फत विदेशी खेलाडी भित्र्याउन लागेका हुन्।
क्रिकेट अस्ट्रेलियाका अनुसार सन्दीप यसपटक पनि होबार्ट हरिकेन्सले रिटेन गर्न योग्य खेलाडी हुन्।
सन्दीपले यसअघि लगातार दुई सिजन हरिकेन्सबाट खेलिसकेका छन्। हरिकेन्सबाट खेल्नुअघिको दुई सिजन सन्दीपले मेलवर्न स्टार्सबाट खेलेका थिए।
सन्दीपले बिबिएलमा लगातार चार सिजनमा ४३ खेल खेलिसकेका छन्। जसमा उनले ४८ विकेट विकेट लिएका छन्। बिबिएलमा उनको उत्कृष्ट प्रदर्शन ३ विकेट लिएर २६ रन दिनु हो।


















