घातक छ नेता चिन्तन !

68
विवादित नागरिकता विधेयकविरुद्ध राष्ट्रपतिकोमा डेलिगेसन बढ्दै / बिधेयक होला त फिर्ता ?
देशमा नै पर्याप्त रोजगारीको वातावरण नबन्दा थुप्रै नेपालीहरु अहिले विश्वका अधिकांशजसो मुलुकमा रोजगारीका लागि पुगिरहेका छन् । अर्थतन्त्रको ठूलो हिस्सा तिनै वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाएको रेमिट्यान्सको छ । त्यसैले कथंकदाचित् विश्वमा कुनै ठूलो संकट आइपरेर यस्तो रेमिट्यान्सको मात्रा घट्ने हो भने मुलुकको अर्थतन्त्र नै ठूलो जोखिममा पर्ने सधैं जोखिम देखिएको छ । यसको उदाहरणस्वरुप हालसालै कोरोना संक्रमण र रुस–युक्रेन युद्धका कारण अहिले मुलुकमा भित्रिने रेमिट्यान्समा कमी आइरहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ । रेमिट्यान्स कम भित्रिँदा र डलर सञ्चिति घट्दा मुलुकको अर्थतन्त्र संकटोन्मुख छ ।
मुलुकको अर्थतन्त्र यस्तो जोखिमपूर्ण अवस्थामा रहे पनि नेताहरु भने वैदेशिक रोजगारीलाई प्राथमिकता र त्यसैको गुणगान गाउनमा व्यस्त छन् । समृद्ध नेपालको निर्माण गर्ने एजेन्डा लिएर नेतृत्व गर्दै आएका दलका नेताहरु मुलुकमा नै रोजगारीको वातावरण बनाउनुभन्दा जनतालाई वैदेशिक रोजगारीमा पठाउने र उनीहरुले पठाएको रेमिट्यान्समा रमाउने प्रवृत्ति देखिएको छ ।
हाल जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणका लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने भन्दै गर्दा यो प्रचण्ड केवल एक जनाको मात्र नभई अहिले नेतृत्वमा रहेका समग्र नेताहरुको पेटबोली हो भन्ने स्पष्ट रुपमा बुझ्न सकिन्छ । सशस्त्र युद्ध गरेर आएको र सर्वहारा वर्गको पार्टी भनिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै वैदेशिक रोजगारीको महिमामण्डन गर्नु र त्यसलाई समृद्धको नेपालको आधार मान्नु देश र जनताकै लागि दुर्भाग्य मान्न सकिन्छ ।
अहिले विश्वभर लाखौं नेपाली रोजगारीका लागि कार्यरत छन् । वैदेशिक रोजगारीबाट मुलुकमा रेमिट्यान्स त भित्रिएको छ तर देश भने विकासबाट वञ्चित भएको छ । हरेक घरबाट सक्षम युवा रोजगारीका लागि विदेशी भूमिमा पसिना चुहाउने र अशक्त भएपछि नेपाल फर्किने गर्दा देश वृद्धाश्रम जस्तो प्रतीत भएको छ । वैदेशिक रोजगारीले श्रमिकको स्वास्थ्यमा पार्ने असर र पारिवारिक विखण्डनका समस्या अझै बग्रेल्ती छन् । कुनै पनि मुलुक युवाशक्तिलाई विदेशमा रोजगारीको लागि पठाएर समृद्ध बन्न सक्दैन । यो कुरा सर्वप्रथम हाम्रा नेताहरुले मनन गर्न जरुरी छ । त्यसैले उनीहरुलाई नेपालमा नै बस्ने र रोजगारीको अवसर सृजना गर्नेतर्फ सरकार र सम्पूर्ण राजनीतिक दलको साझा एजेन्डा हुनुपर्छ ।
त्यसका लागि आत्मनिर्भर अर्थतन्त्र बनाउन र पर्याप्त रोजगारी सृजना गर्न सरकारले योजनाहरु बनाउनुपर्छ । हालको अवस्थामा नेपालले रेमिट्यान्सबाट रकम भित्र्याउने र त्यही रकमबाट उपभोग्य लगायतका सामग्री आयात गर्ने प्रवृत्ति देखिएको छ । देशभर ठूलो क्षेत्रफल खेतीयोग्य जमिन भए पनि जनशक्ति नहुँदा बाँझै छन् ।
स्थानीय तहले त्यस्ता जग्गाको उपयोग गराउन केही प्रयास थाले पनि देशभरि नै यो कार्यान्वयन हुन जरुरी छ । अर्कोतर्फ देशमा नै उत्पादन हुने र आयात गर्न नपर्ने कृषिजन्य वस्तुहरुको सूची तयार पारी त्यस्ता वस्तुको उत्पादन बढाउन सरकारले प्रोत्साहन गर्नुपर्ने आजको टड्कारो आवश्यकता हो ।
यस्तै हरेक वर्ष रोजगारीका लागि तयार हुने जनशक्तिलाई पनि देशमा नै कुनकुन क्षेत्रमा रोजगारी दिन सकिन्छ भने अध्ययन र योजना बन्नुपर्छ । अनि मात्र समृद्ध नेपालको आधार तय हुनेछ , आगे सबैलाई चेतना भया !  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here