, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्ना पूर्वसहकर्मी डा. बाबुराम भट्टराईलाई ‘अनुशासनहीन र अराजक तत्व’को संज्ञा दिएका छन् ।
पार्टीको काठमाडौंमा जारी राजनीतिक समितिको बैठकमा प्रस्तुत प्रस्तावमा अध्यक्ष यादवले भट्टराई समूहको गतिविधिले पार्टी जीवन नै ठप्प हुन पुगेको टिप्पणी गरेका छन् । ‘स्थानीय निर्वाचनभन्दा केही समय अगाडिदेखि पार्टीभित्र डा.बाबुराम र उहाँ निकट गुटद्वारा सञ्चालित अस्वस्थ गतिविधिले पार्टीलाई चलायमान बनाउन गम्भीर समस्या उत्पन्न गर्यो,’ उनले लेखेका छन्, ‘कतिपय प्रदेश तथा जिल्लाहरूमा पार्टी जीवन नै ठप्प हुन पुग्यो ।’
उनले भनेका छन्, ‘पार्टी एकीकरण र ध्रुवीकरणको क्रमसँगै पार्टीको घोषणापत्र र विधानमा सहमति जनाएर एकतावद्ध भएका केही नेता कार्यकर्ताहरूले विभिन्न बहानामा यसलाई कार्यान्वयन गर्न अस्वीकार गरे ।’
यादवले चुनाव लक्षित ११ बुँदे कार्ययोजना, उम्मेदवार छनौटसम्बन्धी कार्यविधि र मापदण्डहरू प्रस्ताव गरेका छन् । उनले चुनाव लक्षित गर्दै संगठन विभाग, जनसंगठन विभाग, सूचना सञ्चार प्रकाशन तथा प्रचार विभाग र आर्थिक विभाग गठनको प्रस्ताव पनि अगाडि सारेका छन् । यादवको प्रस्तावलाई आजको बैठकले संशोधनसहित पारित गर्नेछ ।
बुधबारदेखि ललितपुरको बालकुमारीमा जारी बैठक आज सकिने पार्टीका राजनीतिक समितिका सदस्य मनिकर कार्कीले जानकारी दिए ।
हेर्नुहोस् अध्यक्ष उपेन्द्र यादवको राजनीतिक प्रस्ताव

















