काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
त्रिविले विज्ञप्ति निकालेर विश्वविद्यालयलाई नै बन्धक बनाउने गरी हुलहुज्जत र तालाबन्दी गर्ने समूहमा आबद्ध व्यक्तिलाई कारबाही गर्नुको साथै कार्यालय परिसरमा सुरक्षाकर्मीको माग गरेको हो ।
विद्यार्थीको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक काम कारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध सृजना गर्ने, पदाधिकारीको कार्यकक्षमा जबरजस्ती प्रवेश गर्ने तथा तोडफोड गर्ने जस्ता कार्यहरू बारम्बार हुने गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टिले असहज परिस्थिति सिर्जना भइ छलफल तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा निर्णय गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक जमलमा रहेको एक होटलमा बस्ने क्रममा पनि एउटा समूह जबरजस्ती बैठकमा पसी अभद्र व्यवहार गर्नुको साथै महत्त्वपूर्ण कागजात लुट्ने कार्य भएको पनि विज्ञप्तिमा उल्लेख छ ।


















