काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्ष स्वदेश फर्किएका छन् । सरकारविरोधी प्रदर्शन चर्किएपछि उनी देश छाडेर भागेका थिए । उनी पछिल्लो समय थाइल्यान्डमा अस्थायी भिसामा बस्दै आएका थिए ।
शुक्रबार राथि उनी सिंगापुर हुँदै कोलम्बो फर्किएका हुन् । विमानस्थलमा श्रीलंकाली सरकारका केही मन्त्रीले समेत उनलाई भेटेको बताइएको छ ।
राजापाक्ष फर्किनु रणिल विक्रमासिंघे नेतृत्वको नयाँ सरकारलाई चुनौती हुन सक्ने बताइएको छ । नयाँ सरकारले प्रदर्शन नचर्कियोस् भन्ने चाहेको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन् । साथै राजापाक्षमाथि सुरक्षा चुनौती पनि थपिन सक्नेमा सरकारले ध्यान दिनुपर्ने छ ।
‘राजापाक्ष फर्किएकोमा हामीलाई हेही आपत्ति छैन । जोसुकै श्रीलंकाली नागरिक स्वदेश फर्किन सक्छन्,’ सरकारविरोधी प्रदर्शनमा नेतृत्वदायी भूमिका खेलेका जीवन्थ पेइरिसलेबीबीसीसँग भनेका छन् । केही प्रदर्शनकारीले भने राजापाक्ष पुन: सरकार वा राजनीतिमा आउन खोजे भने विरोध गर्ने जनाएका छन् ।
विमानस्थलबाट राजापाक्ष सेन्ट्रल कोलम्बोको एउटा घरमा गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीलंकाली रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार उनलाई पूर्वराष्ट्रपतिका रूपमा सुरक्षा उपलब्ध गराइने छ ।

















