खोटाङमा खुला दिसामुक्त क्षेत्रमा समेत फोहोरमैला

71

खोटाङलाई ७ जेठ २०७३ मा खुला दिसामुक्त जिल्ला घोषणा गरियो । तत्कालीन ७२ गाविस र एक नगरपालिका रहेको जिल्लाका ४१ हजार ८ सय ५५ घरधुरीमा शौचालय निर्माण गरिएपछि मुलुकको ३५औं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा अहिले पनि सार्वजनिक शौचालयको अभाव छ । साविकको सदमरमुकाम दिक्तेल बजारमै सार्वजनिक शौचालयको अभाव हुँदा सर्वसाधारण मारमा परेका छन् ।

दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सार्वजनिक शौचालयको व्यवस्था नहुँदा दुर दराजबाट बजार आइपुगेका सर्वसाधारण बढी समस्यामा परेका छन् । शौचालय जानका लागि कतिपय सर्वसाधारण खाजा र नास्ता खाने बहानामा होटल छिर्ने गरेका छन् । चिया, खाजा वा नास्ता खान होटल छिरेपछि मात्र सर्वसाधारणले शौच गर्न पाउँछन् ।

होटल मालिकसँग चिनजान भएका कतिपयले सहज तरिकाले होटलका शौचालय प्रयोग गर्न सक्छन्, तर चिनजान नभएका भने खाजा नास्ता खाने बहानामा होटल छिर्न बाध्य छन् । कतिपय भने शौचका लागि खोल्साखोल्सी र एकान्त ठाउँमा जान बाध्य छन् । हाट भर्नका लागि आउने सर्वसाधारणलाई लक्षित गर्दै दिक्तेलको हाटडाँडामा शौचालय बनाइएको छ तर त्यी शौचालय पर्याप्त छैन । दिक्तेलकै हेलीप्याड मञ्चको पछाडि बनाइएको शौचालयको पनि सही ढंगले प्रयोग गरिएको छैन ।

दिक्तेलबजारमा मात्र नभई जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाको केन्द्रमा पनि सार्वजनिक शौचालयको अभाव छ । गाउँ–नगरपालिकाको केन्द्रमा जनघनत्व वृद्धि भइरहँदा सार्वजनिक शौचालयको व्यवस्थापनमा भने ध्यान दिइएको छैन । सार्वजनिक शौचालयको व्यवस्थापन अभावमा खुला दिसामुक्त क्षेत्रमा समेत फोहोरमैला हुने गरेको छ ।  म

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here