काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले महत्वका साथ सुरु गर्न लागेको पहिलो नेपाल टी-२० फ्रेन्चाइज लिग स्थगित भएको छ।
आगामी ८ असोजदेखि ५ कात्तिकसम्मका लागि तय भएको प्रतियोगिता सुरक्षाका कारण स्थगित हुन पुगेको हो। क्यानले गृह मन्त्रालयसँग क्रिकेट प्रतियोगिताको लागि क्रिकेट मैदान तथा खेलाडीबसोबास गर्ने होटलमा आवश्यक सुरक्षा व्यवस्थापन गर्न माग गर्दै पत्र लेखेको थियो।
जवाफमा गृह मन्त्रालयले प्रतिनिधि सभासदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि विभिन्न कार्यक्रममा सुरक्षा दिनुपर्ने भएकाले प्रतियोगिता पछि सार्न आग्रह गरेपछि क्यानले एक विज्ञप्ती जारी गर्दै प्रतियोगिता स्थगित गरेको हो। अब प्रतियोगिता डिसेम्बरसम्मका लागि स्थगित भएको छ। क्यानले विदेशी खेलाडीलाई थप सुरक्षाका लागि गृह मन्त्रालयसँग आग्रह गरेको थियो। तर आगामी ४ मसिरमा तय भएको निर्वाचनका कारण दुई साता पछि सुरु हुने प्रतियोगिता समेत स्थगित हुन पुगेको हो।
क्यानले आइतबारमात्र ड्राफ्टमार्फत सहभागि सबै ६ टिमले खेलाडी अनुबन्धन गरेका थिए। प्रतियोगितामा काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेडले सहभागिता जनाउन लागेका थिए। प्रतियोगितामा ६७ नेपाली खेलाडी र ३३ विदेशी खेलाडी अनुबन्ध भएका थिए। प्रतियोगिता सरेसँगै अब विदेशी खेलाडीले अर्को मितिमा प्रतियोगिता खेल्ने नखेल्ने अन्योल्ता थपिने छ। किनकी विश्वकप नजिकिदै जाँदा केहि स्टार खेलाडी उपलब्ध नहुने जोखिम रहनेछ।


















