यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रूपमा मात्रै ठान्नु हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

43

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाइँको रूपमा लिन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रूपमा मात्रै ठान्न नहुने बताए।

वरिष्ठ उपाध्यक्ष पाेखरेलले भने, ‘यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्‍न हुँदैन। यसपटकको निर्वाचन लडाइँकाे रूपमा हाम्रो अगाडि छ, जुन लडाइँ हामीले जित्नैपर्छ। जित्नैपर्ने लडाइँकाे रूपमा हामी यो निर्वाचनमा छौँ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने उद्घोष गरे।

‘गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य छैन। यो गठबन्धनको उद्देश्य एमालेलाई समाप्त गर्न चाहने मात्रै हो। यो गठबन्धनको आपराधिक षडयन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ’, उनले भने।

स्थानीय तहको निर्वाचनको परिणामलाई जोड्दै उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धनले एमालेलाई भित्तामा टाँसिदिन्छु भनेका थिए। टर्च बालेर खोज्नपर्छ भनेका थिए। तर, जनताको सबैभन्दा लोकप्रिय मत प्राप्त गर्ने एमाले सबैभन्दा ठूलो पार्टी बन्यो।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने बताए।

उनले एकलाखभन्दा बढी विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेको जिकिर गरे।

‘९ लाख सदस्य भएको पार्टीलाई कसैले पराजित गर्न सक्दैन। त्यसैले एमालेले बहुमत ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउँछ’, पोखरेलले भने।

पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले उमेरले युवा र बुढो नहुने बताए। ‘केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम छैन। केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन्। केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन्’, उनले भने नेपालको राजनीतिमा युवा र खेलकुद क्षेत्रलाई सबैभन्दा पहिला अगाडि बढाउने पार्टी नेकपा एमाले भएको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here