भलिबल खेलाडी छनोटमा विवाद

76

काठमाडाैँ । पोखरामा असोज २८ देखि फागुन ३ गतेसम्म हुनेनवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ को टोली वरियतासँगै पदक बढाउनेतर्फ लक्षित रहेको छ ।

असोज ८ गते प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश १ ले राष्ट्रिय खेलकुदको महाकुम्भका लागि विभिन्न ३५ खेलका खेलाडीको चयन कार्य सम्पन्न गरेको छ ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले तयारीको लागि समय अपुग देखिएपनि खेलाडीलाई अन्तिम एकसाता बन्द प्रशिक्षणमा राखेर मानसिक र शारिरीक रूपमा तयार गरिने बताए ।

खेलकुदका लागि प्रदेश १ बाट ७ सय ६ जना खेलाडी छनोट भएका छन् । यसक्रममा भलिबलतर्फ खेलाडी छनोटमा विवाद देखिएको छ । प्रदेश १ खेलकुद विकास बोर्डले महिला र पुरुषगरि २४ जना खेलाडीको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । जसमा संखुवासभा जिल्ला भलिबल संघले आपत्ती जनाएको छ ।

संघका अध्यक्ष एवम् राष्ट्रिय रेफ्री मेदिनी घिमिरेले इटहरीमा सम्पन्न पुरुषतर्फका प्रदेश छनोटमा तेस्रो स्थानमा अटाउन सफल संखुवासभाबाट खेलाडी नपर्नु आफैमा दुःखद् भएको बताए । सोलुखुम्बुलाई पराजित गर्दै संखुवासभा तेस्रो भएको बताएका अध्यक्ष घिमिरेले आफ्नो जिल्लाबाट १२ जनामा समेत खेलाडी नपर्नुले खेलाडी चयनको बास्तविकता उजागर भएको बताए ।

उनले भने, ‘झापा जिल्लाले अनुसाशन कारबाही गरेका र प्रदेश छनोटमा समेत नपरेका खेलाडीलाई अन्तिम १२ मा समेटिएको छ । तर विभिन्न चरण पार गर्दै तेस्रो स्थानमा पुग्ने टोलीबाट खेलाडी नपर्नु आफैमा आश्चर्य भएको छ । तेस्रो हुने टोलीमा कोही खेलाडी नै योग्य भएनन् त ? भन्ने प्रश्न उब्जिएको छ । कसरी छनोट भए खेलाडी बोर्डको पारदर्शीता प्रस्ट भएको छ ।’

उनले भने, ‘परिक्षा नै नदिएका विद्यार्थीले विशिष्ठ श्रेणीसहित परिक्षा पास गरेको प्रमाणपत्र पाउनु सरह खेलाडी एकाएक छनोट भएको अवस्था छ । अहिलेको मापदण्डमा संखुवासभाका दुई खेलाडी पर्नुपर्ने थियो । हामीसंग क्विक स्पाईकर, र ओपन स्पाइकरका दुई संभावना बोकेका खेलाडी थिए । यसक्रममा झापाले कार्वाही गरेका र प्रदेश छनोटमा नपरेका खेलाडी कसरी अन्तिम टोलीमा समेटिए । बुझ्न सकिएन् ।’ प्रदेश खेलकुद छनोट समितिका एक सदस्यका अनुसार बोर्डको हस्तक्षेपले झापाले कार्वाही गरेका खेलाडी टोलीमा अटाएका हुन् । उनले भने, ‘ती खेलाडीले प्रदेश छनोटका क्रममा ग्राउण्ड रिर्पोटिंगसमेत भएको थिएन् तरपनि अन्तिममा किन र कसरी छनोट भयो । यसबारे समिति संयोजक ज्यूले प्रस्टाउन सक्नुहुनेछ ।’

अर्कोतर्फ, बोर्डका सदस्यसचिव वाग्लेले संभावना बोेकेका प्रदेशकै एक नम्बर खेलाडीलाई कार्वाहीका नाममा संघले दुरासय मनसाय राखेको बताए । उनले भने, ‘कार्वाहीको नाममा प्रदेशका राम्रो खेलाडीलाई पाखा लगाउने चेष्टा भएको थियो । उनको खेललाई ध्यानमा राखेर नै बोर्डले नाम राखिएको हो ।’ झापामा जिल्लास्तरीय छनोट खेलेका क्विक स्पाइकर पुकार तामांगलाई जिल्ला भलिबल संघ झापाले नै अनुशासनको कार्वाही गरेको थियो ।

गत भदौ २८ गते संघले तामांगलाई अनुशासनको कार्वाही गरेको विज्ञप्ति नै जारी गरेको थियो । जिल्ला छनोटको बन्द प्रशिक्षणपछि तामाङ र रोमन बस्नेतले संघलाई विना जानकारी पाँचथरमा सम्पन्न ३ दिने भलिबल प्रतियोगिता खेलेका थिए । जसमा संघले आपत्ती जनाउँदै अनुशासनको कारबाही गरेको थियो ।

प्रतियोगितामा खेलेका तामाङलाई संघले नवौँ राष्ट्रिय खेलकुद २०७९ को झापा जिल्ला पुरुष भलिबल टोलीबाट निलम्बन गर्दै कृष्ण तामाङलाई प्रदेश छनोटका लागि टोलीमा राखिएको संघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए । तरपछि तामाङको परिवार, इष्टमित्र सबैले एक पटकलाई अनुरोध भन्दै संघलाई जानकारी गराएपछि संघले पुनः बोर्डलाई तामाङको निलम्बन फुकुवा गरिएको पत्र पठाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । बस्नेतले भने पाँचथरमा नखेलेका कारण स्पस्टीकरण माग गरिएको उनको भनाइ छ ।

राष्ट्रिय खेलकुदका लागि इटहरीमा भदौ २९ देखि असोज १ गतेसम्म प्रदेश स्तरीय छनोट भएको थियो । जसमा झापाको टोली पहिलो भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here