चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड

91

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड दिएका छन्।
गठबन्धन दलद्वारा आज बागलुङ सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले चुनावमा अग्रगमनकारी शक्तिले जित्ने कि परिवर्तन विरोधीले भन्ने विषय गम्भीर प्रश्न बनेर आएको उल्लेख गरे।
‘अहिलेको चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो, संविधान र गणतन्त्र जोगाउन अग्रगमनले जित्नैपर्छ, यो जीवनमरणको प्रश्न हो,’ उनले भने, ‘राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुस्।’
उनले संविधानका उपलब्धिको रक्षा गर्ने सर्तमा भिन्न विचार र कार्यशैली भएका दलहरुबीचमा संयुक्त चुनावी मोर्चा बनेको धारणा राखे। ‘ठूल्ठूला राजनीतिक परिवर्तन प्रजातान्त्रिक र वाम शक्ति मिलेर नै सम्भव भएको हो,’ उनले भने, ‘अन्तरविरोध हुँदाहुँदै पनि साझा मुद्दामा दलहरुबीच संयुक्त मोर्चा र कार्यगत एकता हुन्छ।’
अध्यक्ष केसीले चुनाव जितेर संसद्मा गएपछि आफूले आधारभूत तहका जनताको आवाजको प्रतिनिधित्व गर्ने बताए। विसं २०५६ र २०६४ को चुनावमा बागलुङ–२ बाट चुनाव जितेका केसी अहिलेको चुनावमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here