काठमाडौं । विद्युतीय सामग्रीको बिक्री वितरण गर्ने व्यवसायीहरुले यस वर्षको तिहारमा सजावटका विद्युतीय बत्तीको अभाव हुनसक्ने जनाएका छन् ।
नेपाल सरकारले यस्ता सामान आयातमा गरेको कडाइ र निर्माता मुलुकले उत्पादन र पैठारीमा गरेको विलम्बका कारण यस्तो समस्या हुनसक्ने देखिएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।
‘गत वर्षभन्दा यो वर्ष यी वस्तुको आयात निकै घटेको छ,’ अध्यक्ष पौडेलले भने, ‘नगद मार्जिनका कारण व्यवसायी पनि आयात गर्न नसक्ने अवस्थामा छन् । आयात गर्नेको सामान पनि समयमै आउन सकेन ।’
कोभिड-१९ पछि निरन्तर आरोलो लागेको विद्युतीय सामग्रीको कारोबार अझै निरन्तर रहेको पनि महासंघले जनाएको छ । तिहारमा सजावटका लागि धेरै बिक्री हुने झलरी मालाबत्ती र उत्सव लाइटहरु गत वर्षको मात्रामा आयात नभएको महासंघका महासचिव कोमल पोख्रेल जनाउँछन् । नयाँ घर बनाएर तिहारमा सर्ने, तिहारमा घर, कार्यालय र सडकमा झिलिमिली बनाउने वस्तु पर्याप्त मात्रामा नभएको उनको दावी छ । गत वर्ष तिहारमा यस्ता सामग्रीको व्यापार ३५ देखि ४० करोड रुपैयाँ हाराहारी रहेकामा यसपाली यस्तो हुने नदेखिएको पोख्रेल जनाउँछन् ।
‘व्यवसायीहरु अझै पनि जतिसक्दो आयात बढाउनेमा केन्द्रित छन् । हामी यी वस्तुको आयात र उपलब्धताका विवरणहरु अध्ययन गरिरहेका छौं,’ महासचिव पोख्रेल भन्छन्,’पुराना बत्ती बनाउन आउने र नयाँका खरिदका लागि बजार कसरी अघि बढ्छ भन्ने हेरिरहेका छौं ।’ यो वर्ष हालसम्म आयात भएका तिहार लक्षित उत्सव बत्तीबारे अझै विस्तृत विवरण आइनसकेको भन्सार विभागले जनाएको छ ।
गतवर्षसम्म क्रिसमस लाइटको रुपमा आयात हुने यस्ता वस्तुको यसवर्ष यकिन परिमाण नदेखिएको विभागले जनाएको छ । चालु आवको दुई महिनामा ४९ करोड ५० लाख ८८ हजार रुपैयाँ बराबरको ४८ लाख ५७ हजार ८९९ थान विद्युतीय उपकरण नेपाल भित्रिएका छन् । जसमा झिलिमिली बत्तीको विवरण छुट्ट्याइएको छैन ।
गत वर्ष समीक्षा अवधिमा ५१ करोड ७१ लाखको विद्युतीय सामग्री नेपाल आयात भएका थिए । आव २०७८/०७९ मा ३ अर्ब ३४ करोड ३५ लाख ५ हजार रुपैयाँको ३३ करोड ७ लाख १२ हजार ७७ थान विद्युतीय सामग्री आयात भएको थियो जसमा २ करोड ५८ लाख ९९ हजार रुपैयाँको झिलिमिली बत्ती मात्रै थियो ।


















