नयाँ कार्यदिशा तय गर्दै नेकपाको महाधिवेशन !

47
बिप्लवले भने- हतियारमा शान लागिसकेको छ ! बिजय सुनिश्चित छ !!
काठमाडौं/ कपिलवस्तुमा जारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशनले आगामी क्रान्तिको दिशा तय गर्नेगरी राजनीतिक प्रस्ताव पारित गरेको छ । नेकपाको नवौं महाधिवेशनमा पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएको हो ।
नेकपा सशस्त्र युद्ध छाडेर शान्तिपूर्ण राष्ट्रिय राजनीतिको धारमा आए पनि पछिल्लो समय सरकारले भने दोहोरो रवैया अपनाइरहेको छ । सहमति भइसके पनि निर्वाचन घोषणायता नेकपाका नेताहरुलाई धरपकड गर्ने र थुनामा रहेका नेताहरुलाई रिहाइ गर्न आलटाल गर्दै आएको छ । सरकारको यस्तो प्रवृत्तिको विरोध गर्दै महासचिव विप्लवले आफ्नो पार्टीका लागि निर्वाचनको औचित्य नै सकिएको प्रतिक्रिया दिएका थिएका छन् । बिप्लवले हतियारमा शान लागिसकेको छ, बिजय सुनिश्चित छ भनेर महाधिवेशनको बन्द सत्रमा बोल्दा तालिको गड्गडाहट भएको थियो ।
नेकपा यो पटकको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागीसमेत भएको छैन । चुनावको बहिष्कार र नयाँ क्रान्तिको दिशा तय गर्दै गरेको नेकपा अब नयाँ शिराबाट अघि बढ्ने भएको छ । असोज २५ गतेदेखि रुपन्देहीमा जारी महाधिवेशनमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको करिव साढे चार घण्टा लामो समय लगाएर जवाफ दिएका थिए । प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र उठेका प्रश्नहरुको जवाफ दिँदै विप्लवले पूँजीवादी विश्व असफल भएकाले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपील गरेका थिए ।
प्रस्ताव पास गरिसकेपछि हलमा उपस्थित सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षकहरुले नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावादलगायतका नारा लगाउँदै एकमतले राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम, विधान र जातीय मुक्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए । महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै वैज्ञानिक समाजवाद अनिर्वाय भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निष्कर्षसमेत निकालेको छ ।
महाधिवेशनमा प्रस्तुत प्रस्तावमा नेपालमा मुख्य गरी भूमण्डलीकृत पूँजीवाद एवम् दलाल संसदीय पूँजीवाद र उत्पीडित जनताबीचको अन्तरविरोध प्रधान भएर आएको समेत भनिएको छ । महाधिवेशनमा सहभागीहरुले वैचारिक दृष्टिकोणको हिसाबले महाधिवेशन थवाङ महाधिवेशनभन्दा माथि उठेर आएको र क्रान्तिको रोडम्याप ल्याएको प्रतिक्रिया दिएका छन् ।
‘हामीले एकीकृत जनक्रान्तिको कार्यदिशामा अभ्यास गर्दै जान्छौ । पार्टी भित्र विवाद छैन । भागेर गएकाहरुले गरेको प्रचार क्रान्ति विरुद्धको छ । उनीहरुलाई उचित जवाफ दिएको छ,’ सहभागी टीकाप्रसाद कँडेलले भने । अर्का सहभागी ललित विकले भने, ‘महाधिवेशनबाट समाजवादी क्रान्ति सफल पार्ने दस्तावेज पारित भएको छ । यो विश्व क्रान्तिको राजमार्ग हो । साम्राज्यवाद र दलाल पुँजीवाद विरुद्ध ठूलो वैचारिक हतियार बोकेर आएको छ । यो हतियारलाई सर्वहारावर्गको मुक्तिको एकीकृत जनक्रान्तिमा लागू गर्नेछौ । अरु ठीक छ ।’
विश्लेषकहरुले भने नेपालमा कम्युनिष्ट पार्टी र तिनका नेताहरुको छविमा आएको ह्रास र पुँजीवादी व्यवस्थाविरुद्ध आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउन र मूर्तरुप दिन सुझाव दिएका छन् । विशेषगरी १० वर्षे जनयुद्धको मूल नेतृत्वले दक्षिणपन्थी र खासगरी संसदीय राजनीतिक बाटो समातेका कारण उक्त दुबै घटनाकाबारेमा नयाँ शिराबाट छलफल हुनु आवश्यक भएको उनीहरुको भनाइ थियो ।
महासचिव विप्लवले पनि एकीकृत जनक्रान्तिको हतियार क्रान्ति पूरा गर्ने हतियार भएको महाधिवेशनमा जनाएका छन् । उनले अहिलेको भूमण्डलीकृत पूँजीवाद र दलाल संसदीय व्यवस्थाविरुद्ध लडेर जनताको वैज्ञानिक समाजवाद ल्याउन एकीकृत जनक्रान्तिको हतियारले महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।
नेपालमा दलाल सत्ताबाट नेपाली जनताले विकल्प खोजेको भन्दै त्यो विकल्प नेकपाले मात्र दिने जनाउँदै उनले क्रान्तिको विकल्प दिन पार्टीले पुरानो विचारबाट माथि उठन आवश्यक भएको पनि औंल्याए । नेकपा संघीयता विरोधी भएको विरोधीहरुले प्रचार गरिरहेका बेला महासचिव विप्लवले दलाल पूँजीवादी संघीयता नभई पार्टीले समाजवादी संघीयता चाहेको जनाए । ‘क्रान्ति अन्वेषण हो, विचार अन्वेषण हो, हामीले विचारमा विकास गर्दै सामाजिक विज्ञानको प्रयोग गरिहेका छौं, यो सफल हुनेछ,’ उनले भने । राजनीतिक प्रतिवेदन, विधान र जनजाति सम्बन्ीध जातीय प्रस्तावमा उठेका कैयौं सुझावहरुले अबको क्रान्तिको राजमार्ग निमार्णमा महत्वपूर्ण सहयोग गरेको विप्लवको टिप्पणी थियो ।
पार्टीबाट आर्थिक अपचलन गरेर भागेका भगौडाहरु साम्राज्यवाद भन्दा माथि उठेर पार्टी र क्रान्ति विरुद्ध हमला गरिरहेको भन्दै महासचिव विप्लवले सवैले वैचारिक रुपमा हमला गर्न आग्रह गरे । उनले पार्टीको सम्पति अपचलन गर्नेहरु कहिल्यै सुख नपाउने पनि जनाए । महासचिव विप्लवले क्रान्ति पूरा गर्न आफ्नो जिम्मेवारीमा खरो भएर मैदानमा उत्रिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ पुनः चयन भएका छन् । कपिलवस्तुमा भएको नेकपाको  नवौं महाधिवेशनबाट पुनः महासचिवमा चयन भएका हुन् ।
महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५  सदस्यी वैकिल्पक केन्द्रीय समिति  र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित भएका छन् ।  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here