सर्लाही । सहकारीका सेवा केन्द्र प्रमुखमाथि भएको गोली प्रहार घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना भारतीय र १ जना नेपाली छन् ।
रकम लुटपाट गर्ने उद्देश्यका साथ बुधबार वाग्मती नगरपालिका–१ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको थियो ।
सहनीकै योजनामा भारतीय लुटेराहरू आएको बुझिएको सर्लाही प्रहरीका डीएसपी विजय यादवले बताए । ‘घटनालगत्तै लुटेराहरू भागेको क्षेत्रतिर प्रहरी परिचालन गर्यौं, सहकारीमा रहेका सीसीटीभीमा रेकर्ड भएको फुटेज पनि हेरेर अनुसन्धानमा जुट्यौं,’ डीएसपी यादवले भने, ‘राति सीमावर्ती गाउँ लक्ष्मीपुरस्थित एक घरमा अपरिचित व्यक्ति बसेको सूचना पाएपछि त्यहाँ पुगेका थियौं र उनीहरूलाई पक्राउ गर्न सफल पनि भयौं ।’
घटनापछि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी निरीक्षक उमाशंकर साह र सर्लाही प्रहरीको टोली लक्ष्मीपुर गएको थियो । ‘प्रहरी टोली उक्त घरमा पुग्दा लुटेराको समूह घरको छतबाट हाम फाल्न खोज्यो । प्रहरीले एक राउन्ड गोली पनि प्रहार गरेको थियो । गोली सहनीको खुट्टामा लागेको छ,’ डीएसपी यादवले भने, ‘उनको स्वास्थ्य अवस्था सामान्य छ ।’
‘अहिलेसम्म लुटपाटकै उद्देश्यले घटना घटेको हाम्रो बुझाइ हो । विस्तृत अनुसन्धान भइरहेको छ, थप कुरा पछि नै खुल्ला,’ डीएसपी यादवले भने । कार्कीको दाहिने पाखुरा, तिघ्रा र बायाँ कोखामा गोली लागेको छ । गम्भीर घाइते कार्कीको काठमाडौंमा उपचार भइरहेको छ । ओमप्रकाश ठाकुर कान्तिपुरबाट


















