आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन कतारद्वारा अस्वीकार

65
Workers walk towards the construction site of the Lusail stadium which will be build for the upcoming 2022 Fifa soccer World Cup during a stadium tour in Doha, Qatar, December 20, 2019. REUTERS/Kai Pfaffenbach - RC2XYD9VDZOB

दोहा । कतारले विश्वकप तयारीका क्रममा मारिएका वा घाइते भएका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ।

कतारका श्रममन्त्री अली बिन समिख अल मारीले एएफपीसँग कुरा गर्दै कतारले लाखौं डलर भुक्तानी नगरेको तलब दिइसकेको बताए। उनले खाडी राष्ट्रका आलोचकमाथि ‘जातिवाद’ को आरोपसमेत लगाए।

‘फिफाको नेतृत्वमा क्षतिपूर्ति अभियानको यो आह्वान पब्लिसिटी स्टन्ट हो,’ उनले भने, ‘हाम्रो ढोका खुला छ। हामीले धेरै मुद्दाको निरुपण र समाधान गरेका छौं।’

एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले फिफा र कतारलाई ४४ करोड अमेरिकी डलर बराबरको कामदारका लागि कोष बनाउन माग गरेका छन्।

मानव अधिकारवादी समूहहरूले कतारले मृत्युको रिपोर्टिङ कम गरेको आरोप लगाएका छन्। कतार सरकारले निर्माणस्थलमा भएका दुर्घटना वा गर्मीका कारण हुने रोगका कारण हजारौँको मृत्यु भएको भन्ने समाचारप्रति कडा आपत्ति जनाएको छ।

फिफाले कोषको बारेमा ‘निरन्तर सम्बाद’ भइरहेको बताएको छ, तर सरकारको पहिलो सार्वजनिक टिप्पणीमा मारीले भने, ‘यो प्रस्ताव अव्यावहारिक थियो।’ यसअघि गत आइतबार मारीले हरेक मृत्यु एक प्रकारले दुःखद् भए पनि यी कोषहरू स्थापना गर्ने कुनै मापदण्ड नभएको बताएका थिए।

‘पीडित कहाँ छन्, पीडितको नाम छ, यो नम्बर कसरी प्राप्त गर्न सकिन्छ?,’ उनले प्रतिप्रश्न गरे। कतारले सन् २०१८ मा श्रमिक सहायता तथा बिमा कोषको स्थापना गरेको थियो जसले तलब नपाएका कामदारलाई सहयोग गरेको थियो।

‘क्षतिपूर्ति नपाएको व्यक्ति छ भने उनीहरू अगाडि आउनुपर्छ र हामी उनीहरूलाई सहयोग गर्नेछौं। कतार एक दशकभन्दा अघिका मुद्दा हेर्न तयार छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here