काठमाडाैं । परराष्ट्र मन्त्रालयको शाखा अधिकृत पदमा कार्यरत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ। सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिएको परराष्ट मन्त्रालयको प्रवक्ता सेवा लम्लासले केटिएम दैनिकलाई बताइन्।
लम्सालका अनुसार कार्यालयको काम सकेर आफू बस्दै आएको अनामनगरतर्फ जान बाटो काट्दै गरेकी ती कर्मचारीलाई मोटरसाइकलले ठक्कर दिएको हो । तनहुँ घर भई काठमाडौंमा बस्ने २४ वर्षीय मिलन रानाले चलाएको प्रदेश३ ०३ ००८प३६१६ नम्बरको मोटरसाइकलले बिहीबार बेलुका ६ बजे तिर ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
मोटरसाइकल ठक्करबाट गम्भिर घाइते सुब्बालाई तत्काल उपचारका लागि मोडल अस्पताल पुर्याइएको थियो। मोडल अस्पतालका चिकित्सकले उनलाई ६:४० मा मृत घोषित गरेका हुन् ।
३४ वर्षीया मृतक सुब्बाका एक नाबालक छोरा रहेको जनाइएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार तीव्र गतिमा रहेको सवारीसाधनको कारण दुर्घटना भएको हो । उनले पैदलयात्रुलाई बाटो काट्दा होसियार हुन र चालकहरूलाई पनि तीव्र गतिमा सवारी नचलाउन अनुरोध गरेका छन् ।


















