मजस्ता हजारौँ किसान यति बेला रासायनिक मल कुरिरहेका छौँ ।” पाँचखाल काफ्लेडिहीका किसान ज्ञानबहादुर थापाले रासायनिक मलको जोहो गर्न भन्दै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय धाएको तीन महिना भइसक्यो । सयौँ किसानको हस्ताक्षर बोकेर रासायनिक मल पाउने माग राख्दै पाँचखाल नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि मल पाउने सम्भावना क्षीण हुँदै गएको उनी बताउन्छन् ।
काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा यति बेला आलु खेतीको समय भए पनि रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । सबैभन्दा हतारोमा भने मन्डनदेउपुर र पाँचखालका किसान छन् । अहिले छिटो आलु रोपिएन भने चैतमा धान र तरकारी लगाउन नपाइने भएकाले सो क्षेत्रका किसानलाई मलको आवश्यकता धेरै नै छ ।
पनौती कुशादेवीका सन्तोष न्यौपानेले खेती गरेर खान्छु भन्दा पनि रासायनिक मल नपाएको सुनाउँदै उम्मेदवारसँग ‘मल दिनूस्, मत लिनूस्’ भन्ने अभियान नै सञ्चालन गर्ने समय आएको बताए । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा आफ्नो मुद्दा बोकेर गाउँ गएका उम्मेदवारसँग किसानले मलसँग मत साट्ने बताए ।
उम्मेदवारले भने हामीलाई मात्रै भन्ने भनेर प्रतिक्रिया दिएको पाँचखालका थापाले बर्ताए । गठबन्धनका उम्मेदवारसँगै नेकपा (एमाले), स्वतन्त्र उम्मेदवारसँग किसानले रासायनिक मल मागेका छन् तर कुनै पनि उम्मेदवारले यो सिजनमा मल ल्याउन सक्ने आधार पेस गर्न सकेका छैनन् । उम्मेदवारले भने आफूलाई मात्रै भन्ने भन्दै किसानलाई अरू उम्मेदवारसँग पनि मलको माग राख्न थालेका छन् ।
तत्कालका लागि पाँचखाल र मन्डनदेउपुर नगरपालिकामा ५० हजार बोरा डीएपी मल आवश्यक छ । त्यसमध्ये पाँचखालमा मात्रै ३० हजार बोरा मल आवश्यक रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।


















