गठबन्धनले प्रतिगमनलाई रोक्न सफल

47

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको गठबन्धनले प्रतिगमनलाई रोक्न सफल भएको बताउनुभएको छ।

उहाँले ठूलो त्याग र बलिदानपछि प्राप्त भएको संविधान र लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रलाई विफल पार्न बनेको पाँच दलीय गठबन्धनले आफ्नो उद्देश्य पूरा गरेको बताउनुभयो।

प्रेस युनियन बाँकेले नेपालगञ्जमा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै महतले निर्वाचनले लोकतन्त्र र संविधानको रक्षा गर्नुका साथै स्थायित्व र समृद्धि ल्याउने बताउनुभयो।

‘‘व्यक्तिवादी दम्भ, एकाधिकार र प्रतिगमनलाई परास्त गर्न गठबन्धन सफल भएको छ’’, प्रवक्ता महतले भन्नुभयो, ‘‘अब यो गठबन्धनले आगामी पाँच वर्षमा देशलाई समृद्धि र विकासको बाटोमा अगाडि बढाउनेछ।’’  गठबन्धनले लोकतन्त्र र संविधानको रक्षा तथा राजनीतिक स्थायित्वलाई मुख्य एजेन्डा बनाएर निर्वाचनमा होमिएको उहाँको भनाइ छ।

उहाँले गठबन्धनको सरकार बनेपछि सानो समयमा पनि थुप्रै लगानी भित्रिएको, आर्थिक विकासका आधार बनेको र पूर्वाधार विकास गर्न अगाडि बढेको बताउनुभयो।

अबको दिनमा देशभित्रै थुप्रै कलकारखाना स्थापना गरेर कृषिमा विशेष लगानी गरेर हजारौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्ने महतको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here