अनुमतिबिनै ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा रोक

40

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामालाई उडानमा रोक लगाइएकाे छ। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिबिनै ककपिटबाट अन्तर्वार्ता दिएपछि पाइलट लामालाई उडानमा रोक लगाइएकाे हाे।

आकाशमै ककपिटमा चालक दलका सदस्यभन्दा बाहेक अन्य व्यक्ति प्रवेशको अनुमति हुँदैन। यदि प्रवेश चाहेमा प्राधिकरणका महानिर्देशककाे अनुमति चाहिन्छ। तर, अनुमतिबिनै ककपिटमा अन्य व्यक्तिलाई बाेलाएर भिडियो अन्तर्वार्ता दिएपछि वरिष्ठ पाइलट लामा विवादसँगै छानविनमा तानिएका हुन्।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार छानबिन प्रतिवेदन नआएसम्म उनको नाम उडानको रोष्टरबाट समेत हटाइएको छ।

हालै चिनियाँ एभिएसन भ्लगर साम चुइलाईले दुबई-काठमाडौँ रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनिक भएको छ। यसबारे नेपाल वायुसेवा निगम मातहतको सुरक्षा विभागले प्राधिकरणलाई जानकारी गराएको थियो।

पाइलट लामा यतिबेला अनुसन्धानको दायरामा छन्। त्यसपछि प्रतिवेदन महानिर्देशक कहाँ जान्छ र महानिर्देशकबाट जे निर्णय हुन्छ, त्यहीअनुसार उनलाई कारबाही हुने सूचना अधिकारी भूलले जानकारी दिएका छन्।

५८ वर्ष उमेर हदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ।

भुलका अनुसार ककपिटमा अनधिकृत व्यक्तिको प्रवेशले उडान सुरक्षामा असर पुग्छ। साेही कारण यतिबेला पाइलट लामा विवाद र छानविनमा तानिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here