युएनएफसिसिसीको पक्ष राष्ट्रको २७औँ सम्मेलन

81

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मे (कोप–२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मङ्गलबार पनि विश्व नेताहरूले सम्बोधन गर्ने क्रम जारी रहनेछ ।

‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान १०ः३० बजेदेखि सुरु भई दिउँसो १ बजेसम्म चल्नेछ । ‘उच्चस्तरीय सत्र’मा दोस्रो दिन मङ्गलबार विभिन्न मुलुकका ५४ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले आफ्नो राष्ट्रिय मन्तव्य दिनु हुने कोपको सचिवालयले जनाएको छ ।

उच्चस्तरीय सत्रमा पहिलो दिन सोमबार सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरसले जलवायुसम्बन्धी विपद् रोक्नका लागि सबैलाई आग्रह गर्नुभएको थियो । ‘उच्चस्तरीय सत्र’को पहिलो दिन विभिन्न मुलुकका ४७ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले आफ्नो राष्ट्रिय मन्तव्य दिनुभएको थियो ।

‘उच्चस्तरीय सत्र’को अन्त्यमा युक्रेनका राष्ट्रपति भोलोद्मिर जेलेन्स्कीको भिडियो सन्देश देखाइने कार्यक्रम छ । कोप–२७ आइतबारदेखि औपचारिक रूपमा सुरु भएको हो । इजिप्टको शर्मा एल–शेखमा यही कात्तिक २० देखि सुरु भएको सम्मेलन मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म हुनेछ । ‘उच्चस्तरीय सत्र’पछि विभिन्न विषयका वार्ता र छलफल हुनेछन् ।

सम्मेलनको विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी र महत्त्वाकाङ्क्षी परिणामहरू दिने लक्ष्य तथा उद्देश्य छ ।

साथै, उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाह माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिने समेत सम्मेलनको लक्ष्य कोपको सचिवालयले जनाएको छ ।

सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा कायम गर्ने मार्गमा विश्वका सबै राष्ट्रहरू ऐक्यबद्ध हुने, यसवर्ष ग्लास्गो प्याक्टको कार्यान्वयन र राष्ट्रिय निर्धारित योगदान (एनडिसिज) र न्यूनीकरणका महत्त्वाकाङ्क्षी लक्ष्यका कार्य योजना तयार गर्ने, अनुकूलनका विश्वव्यापी लक्ष्यमा सहमत हुने र कोप २६ मा सहमत भएको अनुकूलन वित्तको कार्यान्वयन गर्ने बारेमा छलफल र निर्णय हुनेछ ।

साथै, कोप–२७ मा वित्तसम्बन्धी सबै एजेन्डा अगाडि बढाइ जलवायु वित्तका विषयमा महन्तपूर्ण प्रगति गर्ने, सन्तुलित रूपमा ठोस नतिजा प्राप्त गर्न वार्तामा सम्झौतालाई सुधार र सहजीकरण गर्नु, हानी नोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (सेन्टियागो नेटवर्क), हानी तथा नोक्सानी सुविधा सम्मेलनका एजेन्डा छन् । नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको नेतृत्वमा सहभागिता जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here