अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक, इटली र जर्मनी (पश्चिम जर्मनीसहित) समान ४ पटक तथा उरुग्वे,अर्जेन्टिना र फ्रान्सले २-२ पटक विश्वकप जितिसकेका छन् । इंग्ल्याण्ड र स्पेनले भने समान १ पटक विश्वकप जितेका छन् ।
अहिलेसम्म १३ राष्ट्रले विश्वकप फाइनल खेलेका छन् । जसमा ८ राष्ट्र च्याम्पियन बन्दा पाँच राष्ट्र फाइनलमा पुगेर असफल भएका छन् । चेकोस्लोभाकिया, हंगेरी, स्वीडेन, नेदरल्याण्ड्स क्रोएशियाले विश्वकप फाइनलमा पुगेर पनि उपाधि जित्नबाट टाढा रहे ।
त्यसमा पनि नेदरल्याण्ड्सले तीन पटक फाइनल पुगेर उपाधि जित्न सकेको छैन । चेकोस्लोभाकिया र हंगेरी समान दुई पटक फाइनलमा पराजित भएका छन् । पछिल्लो पटक रुसमा २०१८ मा भएको विश्वकपमा क्रोएशिया उपविजेता बनेको थियो ।
यस पटक ४ पटकको च्याम्पियन छनोट हुन सकेन भने बाँकी ७ च्याम्पियनले कतारमा विश्वकप खेल्दैछन् । सर्वाधिक ५ पटकको च्याम्पियन ब्राजिल सबै विश्वकप खेल्ने एक्लो राष्ट्र हो ।



















