फिटिङ डाउन ज्याकेट लगाउनेहरू बजारमा प्रशस्तै देखिन थाले

65

काठमाडौं। चिसो बढ्दै जाँदा हेर्दा आकर्षक देखिने फिटिङ डाउन ज्याकेट लगाउनेहरू बजारमा प्रशस्तै देखिन थालेको छ। महिला पुरुषका विभिन्न मोडेल तथा रङमा उपलब्ध डाउन ज्याकेट बाइक, स्कुटर चलाउनेहरूले बढी प्रयोग गर्छन्। गुणस्तरीय डाउन ज्याकेटमा राजहंशको रौँ प्रयोग गरिने भए पनि अहिले फर्म, सिलिकोन तथा कपासका ज्याकेटलाई पनि डाउन ज्याकेट भन्न थालिएको छ।

डाउन ज्याकेट राम्रो गुणस्तरीय छ भने र राम्रो नाम चलेको ब्रान्डको छ भने निकै महँगो पर्ने भए पनि सिलिकोन, कपास, फर्म आदिको सामान्य सिलाइको भने सस्तो मूल्यमा नै पाउन सकिन्छ। जाडोको फेसन हो, राजधानीको जाडो धान्न धेरै न्यानो कपडा आवश्यक पर्दैन तर सिलाइ भने शरीरमा चटक्क मिल्ने आकर्षक हुँदा राम्रो हुन्छ।

डाउन ज्याकेट हेर्दा भद्दा जस्तो हुने भएकाले शरीर सुहाउँदो नहुँदा भने न्यानो त होला तर आकर्षक भने देखिँदैन तसर्थ डाउन ज्याकेटको फेसनको चयनमा शरीर मिल्दो साइज र कलरमा होस पु¥याउनु पर्ने देखिन्छ।

डाउन ज्याकेट लगाउन न्यानो भए पनि यसको हेरचाहमा भने विशेष ध्यान दिनुपर्छ। जथाभावी धुँदा यसमा भएको रौँ बिग्रने सम्भावना पनि हुन्छ। डाउन ज्याकेट धुँदा सबैभन्दा पहिला पकेटहरूको चेन लगाउनुपर्छ। अन्यथा कपडा धुँदा पानी गोजीभित्रै रहन सक्छ। यस्तो भएमा ज्याकेटभित्र रहेको डाउन सुक्न निकै समय लाग्न सक्छ।

धुने क्रममा एउटा बाटामा ज्याकेट डुब्ने गरी पानी जम्मा गर्ने। त्यसलाई हलुका तरिकाले डुबाउनुपर्छ। त्यसपछि रुमाल वा जालीमा साबुन लगाएर सो ज्याकेटमा नरम तरिकाले घोट्नुपर्छ। यसो गर्दा जतिसुकै गहिरो मयल भए पनि सफा हुन्छ।

ज्याकेट पखाल्दा पनि विचार गर्नुपर्छ। अन्य कपडाजस्तो मिच्नु हुँदैन। सावरको जस्तो पानीले सर्लक्क पखाल्नुपर्छ। सकेसम्म भित्रको फ्लोर नभिजाउँदा राम्रो हुन्छ।

ज्याकेट घाममा सुकाउँदा हातले टकटक्याउँदै र पिट्दै सुकाउँदा राम्रो हुन्छ। यसो गर्दा ज्याकेटमा राखिएको रौँ डल्लो परेको वा टाँसिएको छ भने फुक्छ। वासिङ मेसिनमा धुँदा पनि ज्याकेटको गोजीमा चेन लगाउन भुल्नु हुँदैन। त्यसपछि ज्याकेटलाई उल्टो पारेर चेन लगाएर मेसिनमा हाल्दा हुन्छ।

मेसिनमा पाउडर राख्ने स्थानमा भने सफा गर्न भुल्नु हुँदैन। डिटर्जेन्ट पाउडर या सर्फ भएमा त्यसलाई पखाल्ने या सफा गर्नुपर्छ। यसले ज्याकेटलाई हानि गर्ने वा दाग बस्न सक्छ। डिटर्जेन्ट पाउडरले धुँदा दाग लाग्ने सम्भावना बढी हुन्छ। त्यसैले लिक्विड सर्फ प्रयोग गर्नुपर्छ।

स्रोत : एजेन्सी   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here