आखिर चुनावबाट राजनीतिक स्थिरताको संकेत भएन ! विकल्प खोजौं !!

23
गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको नतिजा मिश्रित आउने भएको छ । निर्वाचन हुनुअघि नै दलहरुबीच गठबन्धनले कुनै पनि दलको बहुमत आउन कठिन हुने निश्चित देखिएको थियो । प्रारम्भिक नतिजाले त झन् ठूला दलहरुको सीट घट्ने र संसदमा नयाँ दलका साथ नयाँ अनुहारहरु आउने पक्का भएको छ । यसको अर्थ हो, अब संसदमा थोरै सिट भएका धेरै हुने दल हुने भएका छन् । स्वतन्त्र उम्मेदवारको संख्या पनि उत्तिकै हुनेछ । यसले सरकार गठन र गिराउन ५० को दशकमा जस्तै चलखेल हुने देखिन्छ । जसका कारण मुलुक फेरि अस्थिर राजनीतिको शिकार हुने सम्भावना बढेको छ ।
२०४८ सालको चुनावपछि कांग्रेसले बहुमत पाए पनि सम्हाल्न नसक्दा २०५१ सालमा मध्यावधि चुनाव भएको थियो । कांग्रेसभित्रको आन्तरिक विवादका कारण तत्कालीन सरकारले मध्यावधि चुनाव गराउँदा कुनै पनि पार्टीको बहुमत आउन सकेन । तत्कालीन एमालेले बढी सिट जितेको आधारमा अल्पमतको सरकार बनाएको थियो । त्यसपछि अस्थिर राजनीतिको सुरुवात भएको थियो । त्यसयता राजाको हातमा शासन नपुग्दा मुलुकमा कैयौं सरकार गठन भए, जसमा साना दलबाट पनि केहीले प्रधानमन्त्री बन्ने सौभाग्य पाए । त्यही समयमा नै मुलुकमा माओवादीले सशस्त्र युद्धको सुरुवात ग¥यो ।
त्यही बेला जस्तै अहिले पनि कुनै पनि दलको बहुमत आउने देखिँदैन । पहिलो पार्टी को बन्ने भन्नेमा पुरानै दलहरु कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिन्छ । तेस्रो पार्टीमा भने माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रत्यक्षतर्फ केही सिट जित्ने सम्भावना देखिएको रास्वपाले समानुपातिकतर्फ भने राम्रै मत पाउने देखिन्छ । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको यो पार्टी निर्वाचनको ३ महिनाअघि मात्र अस्तित्वमा आएको हो । तर, ठूलो दल भनिएको माओवादीलाई नै यसले समानुपातिकमा पछि पारेको छ । त्यति मात्र नभई पहिलो पार्टी र दोस्रो पार्टीसँग पनि रास्वपाको दूरी कम नहुने देखिन्छ ।
नेपालको केही दशकयताको मुख्य समस्या हो, अस्थिर राजनीति । संसदीय कुनै पनि दलको बहुमत नआउने, बहुमत आइहाले पनि आन्तरिक विवादकै कारण कायम राख्न नसक्ने समस्याका कारण स्थिर सरकार सम्भव हुन सकेको छैन । दलहरु पनि अधिकांश समय सरकार गिराउने र नयाँ बनाउने चलखेलमा लागिरहेका पाइन्छन् । यसले विकास र समृद्धिको यात्रालाई भने ठूलो बाधा पु¥याइरहेको छ । अर्कोतर्फ सरकारमा पुग्न विदेशी शक्तिसँग अवैध साँठगाँठ पनि पछिल्लो समय मौलाएको छ । त्यही कारणले भारत, चीन र पश्चिमा राष्ट्रको क्रीडास्थलको रुपमा नेपाल विकसित हुँदै गएको छ ।
यो निर्वाचनले पनि नेपालले लामो समयदेखि भोग्दै आएको अस्थिर राजनीतिको समाधान नदिने निश्चित भएको छ । त्यसकारण अब यसको विकल्प के हुन सक्छ भन्नेमा दल तथा तिनको नेतृत्वले सोच्न जरुरी देखिन्छ । समान मत मिल्ने दलहरुबीच एकतादेखि, सरकारको कार्यकारीको निर्वाचन प्रत्यक्षबाट लगायत विकल्पहरुमा दलहरुले सोच्ने बेला आएको छ, आगे चेतना भया ! जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here