समूह ‘एफ’ खेल राेचक बन्दै क्यानडा बाहिरियाे

26

काठमाडौं । क्रोएसिया र मोरक्कोको जितसँगै कतार विश्वकपअन्तर्गत समूह ‘एफ’ बाट अन्तिम १६ मा प्रवेश गर्नका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।

आइतबार सम्पन्न खेलमा मोरक्कोले बेल्जियमलाई २–० ले हराएको थियो। पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमनसहित क्यानडामाथि ४–१ को निकाल्दै अन्तिम १६ प्रवे शको सम्भावना बलियो पारेको हो। समूह ‘एफ’ को शीर्ष स्थानमा रहेको क्रोएसिया र दोस्रो स्थानको मोरक्कोको समान चार अंक छ। तेस्रो स्थानको बेल्जियमको तीन अंक छ।

त्यसैले समूह ‘एफ’ बाट नकआउट चरण प्रवेश गर्ने दुई टोलीको टुङ्गो अन्तिम खेलबाट मात्र हुने भएको छ। समूह चरणको अन्तिम खेलमा क्रोएसियाले बेल्जियमको सामना गर्नेछ। सो खेलमा अंक बाँडे मात्र पनि त्यो नतिजा क्रोएसियालाई नकआउट चरणको टिकट पक्का गर्न पर्याप्त हुनेछ। यता मोरक्कोले भने क्यानडाको सामना गर्नेछ। मोरक्कोलाई पनि बराबरीको नतिजा समूहचरण पार गर्न पर्याप्त हुनेछ।

लगातार दोस्रो हारसँगै क्यानडा भने कतार विश्वकपबाट बाहिरियो। जारी विश्वकपको समूह चरणबाटै बाहिरिने क्यानडा दोस्रो टोली हो। यसअघि समूह ‘ए’ बाट आयोजक कतारको यात्रा समूहचरणमा सीमित थियो। हालसम्म साबिकको विजेता फ्रान्सले मात्र अन्तिम १६ को टिकट काटेको छ। पहिलो खेलमा अल्फोन्सो डेबिसले पेनाल्टी अवसर गुमाएको खेलमा बेल्जिमलाई १–० को नतिजा सुम्पिएको क्यानडाले क्रोएसियाविरुद्ध भने उनकै गोलबाट अग्रता लियो।

दोस्रो मिनेटमा लिएको अग्रतासँगै क्यानडा क्रोएसियामाथि हाबी हुने अनुमान थियो। तर, क्यानडाको सो आशा ३६औं मिनेटमा टुट्यो। आन्द्रेज कारामारिचले क्रोएसियालाई खेलमा फर्काए। ४४औं मिनेटमा मार्को लिभाजाले गरेको गोलमा क्रोएसियाले अग्रता लियो। ७०औं मिनेटमा कारामारिचले व्यक्तिगत दोस्रो गोल गदै क्रोएसियाको अग्रता ३(१ मा पुर्‍याए।

इन्जुरी समयको चौथो मिनेटमा लोभ्रो मारेजले क्रोएसियाका लागि चौथो गोल गरे। क्रोएसियाले सन् २०१८ को रुस विश्वकपको सनसनीपूर्ण रूपमा फाइनलसम्मको यात्रा तय गरेको थियो। फाइनलमा भने क्रोएसिया फ्रान्ससँग निराश भएको थियो। आइतबारकै खेलमा बेल्जियम मोरक्कोसँग २–० ले स्तब्ध भयो। ७३औं मिनेटमा साबिरीले गरेको गोलमा मोरक्कोले अग्रता लिएको थियो। इन्जुरी समयको दोस्रो मिनेटमा अबुखलले मोरक्कोको अग्रता दोब्बर पारे।

रुस विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको बेल्जियमले यस पटक भने स्वभाविक लयअनुसारको प्रदर्शन गर्न सकेको छैन। बेल्जियममाथिको जितसँगै मोरक्कोले भने सन् १९८६ पछि पहिलोपटक विश्वपको समूहचरण पार गर्ने सम्भावना बलियो पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here