रविमाथि नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू

153

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ। चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद रविले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोपमा छानबिन थालिएको हो। रवीले जानबुझ गल्ती गरेको ठहर भएमा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो। प्रशासनले यसमा छानबिन गर्न काठमाडौं प्रहरी परिसरलाई पत्र पठाएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए। उनले भने, ‘‘ जिल्ला प्रशासन कार्यालयबाट पत्र आएको छ। छानबिनको प्रक्रिया अघि बढेको छ। अनुसन्धान भइरहेको छ।’’ उनले २०५० सालमा प्राप्त गरेको नागरिकता नै प्रयोग गरिरहेका छन्। अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकता त्यागेका थिएनन्। नेपालको कानुन अनुसार विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज हुन्छ। यदि पुन नेपालकै नागरिकता लिनुपर्ने भएमा विदेशी नागरिकता त्याग्नुपर्ने प्रावधान छ। उनले विदेशी अमेरिकी नागरिकता त त्यागे तर नयाँ नागरिकता बनाएनन्। उनले निष्क्रिय भैसकेको २०५० सालमै बनाएको नागरिकता प्रयोग गरिरहेका छन्। सोही आधारमा २०१५ मै नेपाली पासपोर्ट लिएका छन्।

रवीले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको पनि आरोप छ। यस विषयमा उनी उम्मेदवार रहेको बेलामा निर्वाचन आयोगमा विरुद्ध उजुरी परेको थियो। विदेशी नागरिकता त्याग्नुभन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए पाँचलाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनमा व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here