काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको बताएका छन्। मेयर साम्पाङले बालेनलाई घेराबन्दीमा पारिएको भन्दै अब स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन्। साथै उनले आफू मेयर बालेनको पक्षमा रहेकोसमेत स्पष्ट पारेका छन्।
उनले सामाजिक सञ्जालमा लखेका छन्, ‘कथाले माग्यो अब! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ! त्यो निन्दनीय छ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहने छ!’ केही दिनअघि काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजेपछि मेयर शाहको आलोचना भएको थियो। महानगरको कदमको विरोध गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेनले सुकुम्बासी बस्तीमा तमासा गरेको टिप्पणी गरेका थिए।
ओलीको उक्त भनाइप्रति मेयर शाहले कडा प्रतिक्रिया जनाउँदै सुकुम्बासीहरु राजनीतिक दलका लागि केवल भोट बैंक मात्रै भएको बताएका थिए। यस्तै मेयर शाह र अमेरिकी राजदूतको भेटको विषयलाई लिएर एमाले नेता भीम रावलले पनि सामाजिक सञ्जालमा प्रश्न उठाएका थिए।

















