युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न रुसलाई दवाव

57
एजेन्सी ।  रुसले युक्रेनबाट आफूले कब्जा गरेका नयाँ क्षेत्रलाई मान्यता दिन पश्चिमले अस्वीकार गर्दा शान्ति वार्ता हुन कठिन भएको बताएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनसँग भेट्न आफू तयार रहेको सङ्केत गरेपछि क्रेमलिनले आफू वार्ताका लागि खुला भए पनि युक्रेनबाट बाहिरिनुपर्ने पश्चिमा माग पूरा गरेर वार्तामा नबस्ने बताएको छ।   रुसले गत सेप्टेम्बरको अन्त्यमा आफूले कब्जा गरेका चार युक्रेनी क्षेत्रलाई गैरकानुनी रूपमा आफ्नो देशको भू-भागका रूपमा विस्तार गरेको दावी अमेरिकालगायत यसका सहयोगी यूरोपेली मुलुकले गरेका छन् र त्यसलाई मान्यता दिन नसकिने बताउँदै आएका छन्।  क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति बाइडेनले रूसी सेनाले युक्रेन छोडेपछि मात्र वार्ता सम्भव हुँने बताएको र रूसका लागि यो स्वीकार्य नभएको बताएका छन्।
‘यसले वार्ताका लागि पारस्परिक आधारको खोजीलाई जटिल बनायो’, उनले भने।  सेप्टेम्बरको अन्त्यमा राष्ट्रपति पुटिनले चारवटा युक्रेनी क्षेत्रहरूलाई रूसको भागको रूपमा घोषणा गरेका थिए।  रुसले लुहान्स्क, डोनेट्स्क, खेरसन र जापोरिज्या आफ्नो कब्जामा लिएको घोषणा गरिसकेको छ।  अमेरिकी राष्ट्रपति बाइडेनले बिहीबार पत्रकारहरूसँगको कुराकानीमा यदि वास्तवमा उनी (पुटिन) युद्ध अन्त्य गर्ने बाटो खोज्दै छन् भने आफू रूसी नेतालाई भेट्न तयार रहेको बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here