अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल

83

काठमाडौं । रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने जी–७ देशले गरेको सम्झौतापछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने ब्रेन्ट क्रुडको मूल्य एसियाली व्यापारमा करिब एक प्रतिशतले बढेको छ ।

युक्रेनमा भएको हमलापछि रुसमाथि दबाब दिने उद्देश्यले पश्चिमी देशहरूले यो सम्झौता गरेका हुन्, जुन सोमबारदेखि लागू भएको छ । घट्दो आर्थिक वृद्धिदर र बढ्दो ब्याजदरका बीचमा ओपेक प्लस राष्ट्रहरूले तेल उत्पादन घटाउने आफ्नो निर्णयमा अडिग रहेपछि यो सम्झौता भएको हो ।

ओपेक प्लस २३ तेल निर्यात गर्ने देशहरूको समूह हो जसमा रुस पनि समावेश छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल कति बिक्री गर्ने भन्ने निर्णय गर्न समूहको नियमित अन्तरालमा बैठक बस्छ ।

गत हप्ता, जी-७ र अष्ट्रेलियाले एक संयुक्त विज्ञप्ति जारी गर्दै रूसी तेलको मूल्यमा प्रति ब्यारेल ६० डलरको सीमा सोमबारदेखि लागू हुने बताएको थियो। यो समूहले यो कदमले रुसलाई युक्रेनमा भएको आक्रमणपछि नाफा कमाउनबाट रोक्ने बताएको छ ।

यस सम्झौताको प्रत्यक्ष अर्थ भनेको प्रति ब्यारेल ६० डलर वा सोभन्दा कम मूल्यमा खरिद गरेको रुसी तेल मात्र जी-७ र युरोपेली संघका ट्याङ्करहरू मार्फत पठाउन सकिन्छ। यसका साथै यो मूल्यमा रूसी तेल खरिद गर्नेहरूलाई बीमा कम्पनीहरू र ऋण संस्थाहरूबाट सहयोग लिन अनुमति दिइनेछ।

यस कदमले रूसलाई आफ्नो तेल उच्च मूल्यमा बेच्न अझ गाह्रो बनाउनेछ किनभने धेरै प्रमुख शिपिंग र बीमा कम्पनीहरू जी-७ देशहरूमा छन्। जी-७ विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका देशहरूको समूह हो। यसमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिका सामेल छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here