जारी विश्वकपमा एमबापे, मेसीसरह रोनाल्डो चम्किने अपेक्षा

76

दोहा । कतार विश्वकपमा किलियन एमबापे तीन खेलमा पाँच गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ। लियोनेल मेसीले पनि आफ्ना गोल र ड्रिब्लिङले समर्थकलाई मन्त्रमुग्ध पारिरहनुभएको छ। अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोले भने आफ्नो छविअनुसार प्रदर्शन गर्न सक्नुभएको छैन।

हुन त रोनाल्डो पहिलो खेलमा घानाविरुद्ध गोल गरेर पाँच विश्वकप फुटबल प्रतियोगितामा गोल गर्ने विश्वका पहिलो पुरुष खेलाडी बन्नुभएको थियो। रोनाल्डोले पाँच विश्वकपमा कुल आठ गोल गर्नुभएको छ। उहाँको अन्तर्राष्ट्रिय गोलसङ्ख्या ११८ गोल पुगेको छ। रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुनुहुन्छ तर रोनाल्डो त्यसपछि दुई खेलमा शान्त नै देखिनुभयो। रोनाल्डोका समर्थकहरू उहाँले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन नकआउट चरणका लागि बचाएर राख्नुभएको विश्वास गर्छन्। पोर्चुगलले मङ्गलबार अन्तिम १६ मा स्विट्जरल्यान्डविरुद्ध खेल्दा रोनाल्डोसमक्ष समर्थकको अपेक्षामा खरो उत्रने चुनौती तथा अवसर हुनेछ। यद्यपि रोनाल्डोले अहिलेसम्म विश्वकपको नकआउट चरणमा गोल गर्न सक्नुभएको छैन। जुन रोनाल्डोको चम्किलो फुटबल जीवनमा दागका रूपमा रहेको छ। त्यसैले पनि रोनाल्डोमा मङ्गलबार सबैको नजर रहनेछ।

यद्यपि यस पटक स्विट्जरल्यान्डको टिम कमजोर छैन। यही टिमले गत वर्ष युरो च्याम्पियनसिपको अन्तिम १६ मा विश्व विजेता फ्रान्सलाई हराएको थियो। युरोपेली फुटबलमा स्विट्जरल्यान्डलाई सधैँ राम्रो प्रदर्शन गर्ने टिमका रूपमा लिइन्छ। सन् १९५४ पछि स्विट्जरल्यान्डले अहिलेसम्म प्रिक्वाटरफाइनल पार गरेको इतिहास भने छैन। त्यसैले पोर्चुगललाई हराएमा स्विट्जरल्यान्डले कीर्तिमान बनाउनेछ।

सुरुका दुई खेल जितेपछि पोर्चुगल एसियाली राष्ट्र दक्षिण कोरियासँग हारेको थियो। सो हारले पनि पोर्चुगललाई झस्काएको छ। यद्यपि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले दक्षिण कोरियाविरुद्ध बु्रनो फर्नान्डेज, बर्नार्डो सिल्भा र रुवेन डियास जस्ता खेलाडीलाई विश्राम दिनुभएको थियो। प्रशिक्षक सान्तोषसमक्ष स्विट्जरल्यान्डविरुद्ध लेफ्ट ब्याकमा राफेल ग्वेरेरो र जोआओ क्यासेलोमध्ये कसलाई खेलाउने दुविधा पनि छ। सन् २००६ मा सेमिफाइनल पुगेपछि पोर्चुगलले विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सकेको छैन।

पोर्चुगललाई हराउनु छ भने स्विट्जरल्यान्डले ब्रिल इम्बोलोको गोलको लय कायम रहुन् भन्ने कामना गर्नुपर्नेछ। समूह चरणमा दुई गोल गरिसकेका इम्बोलोले स्विट्जरल्यान्डका लागि पछिल्ला पाँच खेलमा चार गोल गर्नुभएको छ। पोर्चुगल र स्विट्जरल्यान्डबीच यस वर्ष तेस्रो पटक भिडन्त हुँदैछ। एक खेल स्विट्जरल्यान्डले जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो। नेसन्स लिगमा ह्यारिस सेफेरोभिचको गोलको सहयोगमा स्विट्जरल्यान्ड विजयी भएको थियो। यसैगरी प्रमुख प्रतियोगितामा यी दुई राष्ट्रबीच अहिलेसम्म भएको एक मात्र भिडन्तमा पनि स्विट्जरल्यान्ड नै सफल छ। युरो २००८ मा स्विट्जरल्यान्डले पोर्चुगललाई २–० ले पराजित गरेको थियो। त्यसैले पनि स्विट्जरल्यान्ड उच्च मनोबलमा रहेको छ।

स्विट्जरल्यान्डका अनुभवी खेलाडी जार्दान सकिरीले भन्नुभयो, “पोर्चुगललाई कसरी हराउने हामीहरूलाई थाहा छ तर पोर्चुगल विश्व स्तरीय टिम हो। त्यसैले भोलिको खेल रोमाञ्चक हुनेछ।” स्विट्जरल्यान्ड विश्वकपमा पहिलो पटक लगातार तीन खेल जित्ने अभियानमा छ।

स्पेनलाई मोरक्कोको चुनौती

स्पेनलाई विश्वकप उपाधिको दाबेदार मानिएको छ तर मङ्गलबार हुने प्रिक्वाटरफाइनलमा मोरक्कोको चुनौती पार गर्नुछ भने स्पेनले जापानविरुद्धको खेलमा गरेका गल्तीबाट पाठ सिक्नु आवश्यक छ।

जापानविरुद्ध अल्भारो मोराटाको गोलले स्पेन सहज जिततर्फ अग्रसर थियो तर रित्सु डोआन आओ तानाकाले तीन मिनेटमा दुई गोल गरी स्पेनलाई स्तब्ध पा¥यो। ती दुई गोलले स्पेन नकआउट चरणबाटै बाहिरिने अवस्थामा पुगेको थियो। स्पेनले गोल अन्तरको आधारमा मात्र जर्मनीलाई पछाडि पारेर नकआउट चरणमा स्थान बनाएको हो। स्पेनका युवा खेलाडी गाभी भन्नुहुन्छ, “जापानले हामीलाई पाठ सिकाएको छ। हामी भाग्यमानी छौँ, जापानसँग हारले ठूलो मूल्य चुकाउनु परेन तर अबका खेलमा के गर्नुपर्छ, हामीलाई थाहा छ।”

बलियो देखिए पनि स्पेनलाई मोरक्कोको स्तरीय प्रत्याक्रमणबाट जोगिन आवश्यक हुनेछ। क्रोसिया र बेल्जियमको समूहबाट मोरक्को समूह विजेता बनेर नकआउटमा पुगेको हो। मोरक्को मात्र दोस्रो पटक विश्वकपको नकआउट चरणमा खेल्दै छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here