एजेन्सी । एजुकेसन सिटी स्टेडियममा शुक्रबार साँझ क्रोएसियासँग भिड्दै ब्राजिल छैटौंपटक विश्वकप फुटबलको उपाधि जित्ने प्रयासमा हुनेछ। क्वार्टरफाइनल पुग्नुअघिको खेलमा ब्राजिलले क्रोएसियालाई कडा चेतावनी दिइसकेको छ।
क्रोएसियाले अन्तर्राष्ट्रिय फुटबलमा उच्चस्तरको खेल प्रस्तुत गरिरहेको छ। खासगरी ठूला खेलमा अप्रत्याशित नतिजा प्राप्त गरिरहेको छ। १९९८ मा तेस्रो स्थानका लागि भएको खेलबाहेक क्रोएसियाले ८ मध्ये ७ नकआउट खेल अतिरिक्त समयमा टुंगो लगाएको छ।
विश्वकपमा पछिल्ला ५ मध्ये ४ नकआउट खेल अतिरिक्त समयमा धकेलिएका छन्। तीन खेलमा पेनाल्टीमा क्रोएसिया विजयी भएको छ। १९९८ मा पहिलोपटक सहभागी हुँदा नै क्रोएसिया तेस्रो भएको थियो। २०१८ को विश्वकप फाइनलमा फ्रान्ससँग निर्धारित समय ९० मिनेटमै टुंगिएको थियो। जुन खेलमा क्रोएसिया ४–२ ले हारेको थियो।


















