एजेन्सी । युरोपेली संसदका केही सदस्यहरूले कतारबाट घुस लिएको आरोपमा अहिले छानबिन चलिरहेको छ।
कतारसँग सम्बन्धित विभिन्न मुद्दामा युरोपेली संसदको निर्णयमा प्रभाव पार्न भन्दै उनीहरू घुस लिएको आरोप लागेपछि विभिन्न देशमा अनुसन्धान थालिएको हो।
बिबिसीका अनुसार ग्रिसबाट युरोपेली सांसदमा प्रतिनिधित्व गर्ने इभा कैली पनि यो प्रकरणमा मुछिएकी छन्। युरोपेली संसदकी उपाध्यक्षसमेत रहेकी कैलीको फ्लाटमा पनि डेढ लाख युरो ( २ करोड ८ लाखभन्दा बढी नेपाली रुपैयाँ) फेला परेको स्रोतको दाबी छ।
बेल्जियमका अधिकारीहरूले अरू शंकाष्पद व्यक्तिहरूको होटलको रूमदेखि फ्लाटसम्म गरी झन्डै २१ करोड रुपैयाँ फेला परेको बताएका छन्।
कतारबाट घुस लिएको आरोप लागेपछि कैलीलाई युरोपेली सांसदको उपाध्यक्षबाट हटाइएको छ भने उनी र उनका परिवारको सम्पत्ति पनि रोक्का गरिएको छ।
यो विषयमा अहिले बेल्जियम, ग्रिस र इटालीका अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् भने केही ठाउँमा छापा समेत मारेका छन्।
युरोपेली संसदमा केही दिनमै कतारीहरूलाई युरोपेली युनियनका देशभित्र अनअराइभल भिसा दिने प्रस्तावमा निर्णय हुन लागेको थियो। घुस काण्ड बाहिर आएपछि अब तत्काल उक्त विषयमा मतदान नहुने भएको छ।
पश्चिमा मुलुकहरूले विश्वकपका संरचनाहरू बनाउँदा मजदुरहरूको मृत्यु भएको र उनीहरूले क्षतिपूर्तिलगायत आधारभूत अधिकार नपाएको भन्दै कतारको आलोचना गरिरहेका छन्। यस्तो बेलामा युरोपेली संसदको निर्णय प्रक्रियामा प्रभाव पार्न कतारले विभिन्न च्यानलबाट सांसदहरूलाई घुस दिएको आशंका गरिएको छ। यो प्रकरणमा नो पिस विथवाउट जस्टिस, इन्टरनेशनल ट्रेड युनियन कन्फिडेरेसनजस्ता संस्थाका अधिकारीहरू पनि मुछिएका छन्।
कतारका अधिकारीहरूले भने आफ्नो देशले कुनै गलत काम नगरेको बताएका छन्।


















