शैक्षिक संस्थाको हिउँदे बिदाको अवसरमा पुस्तक प्रदर्शनी

94

काठमाडाैं । साझा प्रकाशनले शैक्षिक संस्थाको हिउँदे बिदाको अवसरमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ।

पुस १७ देखि सुरू भएकाे पुस्तक प्रदर्शनी ३० गतेसम्म रहनेछ। विद्यालय, विश्वविद्यालयको हिउँदे बिदामा विद्यार्थीहरूलाई प्रदर्शनीस्थलसम्म आई पुस्तक खरीद गर्न सजिलो होस् भन्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरेको साझा प्रकाशनले जनाएको छ।

प्रदर्शनीस्थलमा तीन रुपैयाँ देखि २८ सय रुपैयाँसम्मका पुस्तक राखिएका छन्। योगेन्द्र तिमल्सिनाको कथासंग्रह बैंसको निर्वासित शहरको मूल्य तीन रुपैयाँ छ भने यसै वर्ष मदन पुरस्कारको उत्कृष्ट आठमा परेको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोशको मूल्य २८ सय रुपैयाँ रहेको छ।

यस वर्ष साझाद्वारा प्रकाशित राष्ट्रकवि माधव घिमिरेको चूडान्त कृति ऋतंभरा पनि प्रदर्शनीमा रहेको छ। उक्त कृतिको भूमिकामा घिमिरेले आफूलाई मन्त्रद्रष्टा ऋषिका रूपमा कल्पना गरेका छन्। त्यहाँ उनले भनेका छन्, ‘म बाहिर कवि हुँ, तर भित्र योगी हुँ। तरापुनिवासी मेरा बुढा ससुरा, गौरीका हजरबाबाट शक्ति प्राप्त भएर १६ वर्षको उमेरदेखि मैले अनाहत नाद श्रवण, ज्योति दर्शन र अमृत पान गर्दै आएको छु। मैले महाकाव्य वेदका ऋचा, उपनिषद्का श्रुति वाक्य र पातञ्जल योगसूत्र आदिको अध्ययन र धेरैजसो एकान्त अनुभवबाट सिर्जना गरेको हुँ।’ यस महाकाव्यको सिर्जनाबाट घिमिरे महाकवि भएका छन्।

प्रदर्शनीमा साझा प्रकाशनबाट भर्खरै प्रकाशित दामोदर पुडासैनी ‘किशोर’ को डोेल्पो ओ डोल्पोदेखि श्रीबाबु कार्कीको सन्दिग्ध शताब्दी लगायत नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित श्रीमद्भागवत महापुराणको नवीन संस्करण, वेदपुराणका रत्नहरू लगायत विभिन्न शीर्षकका कृति राखिएका छन्।

साे प्रदर्शनीमा २५ देखि ८० प्रतिशत छूटमा पुस्तक खरीद गर्न सकिनेछ। साथै, नेपाल प्रज्ञा–प्रतिष्ठान, सिनास लगायत व्यक्तिगत प्रकाशनका पुस्तक पनि प्रदर्शनीमा छन्।  साझाको ललितपुर, पुल्चोकस्थित केन्द्रीय कार्यालय, काठमाडौंको भृकुटीमण्डपस्थित र देशभरका अन्य शाखा कार्यालयमा प्रदर्शनी चलिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here