काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेटा सेन्टरको विद्युत लाइन काटेपछि पोखरा र वरिपरिका क्षेत्रको इन्टरनेट सेवा ठप्प भएको छ । विवादित पोल भाडाको विषयलाई लिएर प्राधिकरणले एकपछि अर्को गर्दै इन्टरनेट सेवाप्रदायक कम्पनीको लाइन काट्न थालेको हो ।
बुधबार दिउँसो साढे १२ बजे नै लाइन काटिएको भए पनि जेनेरेटरको भारमा सेवा अवरुद्ध हुन नदिने प्रयास गरिएको इन्टरनेट सेवाप्रदायक सङ्घ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले बताए । “लामो समय जेनेरेटर चलाउँदा त्यसले लोड धान्न नसकेपछि अहिले इन्टरनेटको पूरै सिस्टम डाउन भएको छ,” उनले भने, “जसले गर्दा दिउँसो साढे तीन बजेदेखि पोखरा क्षेत्रमा इन्टरनेट अवरुद्ध भएको छ ।”
“हामीले आज गएर प्राधिकरणसँग बिजुली जोड्न माग गर्दै सम्झौता समेत गरेर आएका छौँ,” उनले यो समाचार तयार पार्दाको समयमा भने, “तर अहिलेसम्म बिजुलीको लाइन भने आएको छैन ।”


















