काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले विभागीय प्रमुखहरु गायत्री श्रेष्ठ र नारायण लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा १४२ जनाले रगरेका छन् ।
संयोजक एवं उपकार्यककारी अधिकृत विनयरमण पौडेलको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु पवन रेग्मी र दुर्गा कुमारी कँडेल, ट्रेड युनियनका अध्यक्षहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, प्रभातफेरी कार्यक्रम आयोजना भैरहको छ ।
आगामी माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


















