७५ औं भारतीय सेना दिवस

108

भारतको ७५ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले मिति २०७९ माघ ४ गते एक चियापान समारोहको आयोजना गर्यो । सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम. करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाईन्छ ।
नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा श्री प्रभुराम शर्मा सो समारोहको प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो । समारोहमा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत महामहिम श्री नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गर्नुभयो । भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै वहाँले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरुका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महारथी प्रभुराम शर्माले भारतका सेनाध्यक्ष एवम नेपाली सेनाका मानार्थ महारथी मनोज पाण्डेलाई भारतको ७५ औं सेना दिवसको शुभकामना व्यक्त गर्नुभयो । सोही अवसरमा वहाँले भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफको रुपमा नियुक्त हुनुभएकोमा जनरल अनिल चौहानलाई बधाई दिनुभयो । दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै वहाँले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गर्नुभयो । भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधान सेनापति शर्माले सम्मान गर्नुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here